कांग्रेसभित्र किचलो : नेतृत्वको कारण पार्टी अराजकतातर्फ गएको आरोप


न्युज अफ नेपाल, काठमाडौं ।

क्रियाशिल सदस्यताको विषयलाई लिएर सत्तसिन दल नेपाली कांग्रेस भित्रको किचलो छताछुल्ल हुन थालेको छ । वडा अधिवेशन शुरु भएको एकसात वितिसक्दा पनि २० जिल्लाको क्रियाशिल सदस्यको सुची अझै सार्वजनीक गर्न नसकेको कांग्रेसभित्र नेतृत्वको असफलताका कारण पार्टी अराजकतातर्फ गएको गम्भिर आरोप पनि लागेको छ ।

क्रियाशिल सदस्यता वितरणमा भएको गैर जिम्मेवारी, मनपरि र अराजकताले नेपाली कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतरा देखा परेको छ भन्दै सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरि सभापति शेरवहादुर देउवाको चर्को आलोचना गर्नु भएको हो । आफना पक्षका शीर्ष नेताहरु संगै राखेर पत्रकार सम्मेलन गर्नु भएका पौडेलले सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी प्रशासनको आडमा जवरजस्ती वडा अधिवेशन गराएको भन्दै विवाद समाधान गरि पुनः वडा अधिवेशन गर्न माग पनि गर्नुभएको थियो ।

सभापति देउवाको गृह जिल्ला डडेलधुरामा क्रियाशिल सदस्यको विवादले उग्ररुप लिएपछि जिल्ला सभापति लगाएतका अधिकाशं नेताहरुको वहिस्कारका वीच पनि सभापति देउवाले आफ्नो पक्षिय क्रियाशिल सदस्यहरु राखि प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप छ । सभापतिको गृह जिल्लामा भएको बल मिचाईले महाधिवेशन निश्पक्ष हुन्छ भन्नेमा आशंका रहेको वरिष्ठ नेता पौडेलको भनाई थियो । १४औं महाधिवेशनको लागि एकसय प्रतिशत नै नया क्रियाशिल सदस्य थपेको काग्रेसभित्र अधिकाशं जिल्लामा विवाद थियो ।

‘क्रियाशिल सदस्यको प्रस्ताव वडा समितिबाट आउने स्पष्ट व्यवस्था छ । विवाद नभए सोहि अनुसार गर्ने र विवाद भए सहमतिमा टुङ्गो लगाउने, त्यसो पनि नभए १३औं महाधिवेशनमा कायम रहेका क्रियाशिल सदस्यबाट अधिवेशन गर्ने र पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार विवादीत नामावलीलाई विधि प्रक्रिया पु¥याएर १५औं महाधिवेशनमा सदस्यता दिने भन्ने थियो’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो– पार्टी नेतृत्व पार्टीको विधान र केन्द्रिय कार्यसमितिको निर्णय विरुद्ध अघि बढीरहेको छ । पत्रकार सम्मेलनमा नेपाली काग्रेसको इतिहासमा पहिलो पटक क्रियाशिल सदस्यको टुङ्गो नै नलगाई अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै पौडेलपक्षका नेताहरुले डडेल्धुरामा विधि प्रक्रिया पुर्‍याएर पुनः वडा अधिवेशन गर्न माग गरेका थिए ।

लामो विवाद पछि क्रियाशिल सदस्यताको सुची सार्वजनीक भएको ७५ जिल्लामा वडा अधिवेशन भएपनि २० जिल्लाको सुची अझै सार्वजनीक भएको छ । क्रियाशिल सदस्यको सुची सार्वजनीक नभएको २० जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्ने भनिएको छ । १४औं महाधिवेशनमा क्रियाशिल सदस्यको संख्या दोब्बर बनाएको काग्रेसभित्र खास गरि अन्य पार्टीबाट समायोजन भएर आएको भनिएको क्रियाशिल सदस्यको नामावलीमा विवाद छ । काग्रेसभित्र पछिल्लो समय विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको लोकतान्त्रिक फोरम र सुनिल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी समाहित भएको थियो ।

काग्रेसभित्र नेतृत्व चयनको प्ररम्भिक मतदाता क्रियाशिल सदस्य भएकोले हरेक अधिवेशनमा क्रियाशिल सदस्यता सम्बन्धि विवाद हुने गर्छ । वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधि क्रियाशिल सदस्यहरुले नै निर्वाचित गर्छन । क्षत्रिय प्रतिनिधिहरुले तल्लो तहको सबै नेतृत्व निर्वाचित गर्नुका साथै केन्द्रिय नेतृत्व चयन गर्न आउने महाधिवेशन प्रतिनिधि पनि क्षेत्रिय प्रतिनिधिले नै निर्वाचित गर्ने व्यवस्था छ ।