नेपाल समाचारपत्र, दार्चुला।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठूला शक्तिशाली राष्ट्र भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिङ्कर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ ।
व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि वडा नम्बर १ तिङ्करसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सूचना अधिकारी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
भदौको पहिलो सातादेखि नै सडक निर्माणको काम शुरु गर्ने भनिए पनि सडक निर्माणमा प्रयोग हुने निर्माण सामग्री ढुवानी गर्न नसक्दा ढिलो गरी काम सञ्चालनमा आएको उहाँले बताउनुभयो । दार्चुला–तिङ्कर सडकको सुन्सेरासम्म ट्रयाक खुलेको भए पनि वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर अवरुद्ध भएपछि निर्माण सामग्री ढुवानीमा समस्या आएको नेपाली सेनाले जनाएको छ ।
भदौ २१ गते दुहुँ र व्यासमा खाद्यान्न ढुवानीका लागि आएको नेपाली सेनाको हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने सामान सुन्सेरा ढुवानी गरेको थियो । चट्टानी भू–भाग तोड्न प्रयोग गरिने जिलेटिन र कम्प्रेसर मेसिन सेनाको हेलिकोप्टरले निर्माणस्थलहरु कोठेधार र दुम्लिङमा झारेको थियो । कोठेधारबाट र माथि तथा दुम्लिङबाट तल सडक जोड्ने गरेर निर्माणकार्य भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाले यस वर्ष ७ किलोमिटर सडक निर्माण गर्ने जनाएको छ । यस वर्ष सडक निर्माणका लागि २२ करोड ५० लाख बजेट प्राप्त भएको बताइएको छ ।
प्रयाप्त बजेट प्राप्त भए सडक निर्माण चाँडै सम्पन्न हुने स्रोतले बताएको छ । व्यास गाउँपालिका–४ सुन्सेरा र वडा नम्बर २ दुम्लिङमा क्याम्प निर्माण गरी सेनाको निर्माण कार्यदलको टोली यसअघि नै बसिसकेको छ । शुरुमा कोठेधार देखि तिङ्करसम्म सेनाले निर्माण गर्ने सडकको लम्बाई ८७ किलोमिटर भनिए पनि डीपीआर निर्माणका लागि सर्वे गर्दा १३ किलोमिटर घटेर ७४ किलोमिटर आएको बताइएको छ ।
प्रतिक्रिया