कोरोना संक्रमण घट्दै, अक्सिजन उत्पादन शुरू


नेपाल समाचारपत्र, पाल्पा ।

पाल्पामा पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै घटेको छ । आइतबारमात्रै ७ जना संक्रमित निको भएका छन् भने एक जना पनि संक्रमित थपिएनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो पाल्पामा कोरोनाको दोस्रो लहरपछि पहिलोपटक शून्य परिणम आएको दिन हो । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार एन्टिजेन र पीसीआर परीक्षण ७७ जनाको परीक्षण गरिएकोमा सबैमा नभेटिभ संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३९ छ । जसमा २३ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, जिल्लामा सोमबारबाट अक्सिजन प्लान्टको निर्माणकार्य शुरु भएको छ । तानसेनस्थित पाल्पा अस्पतालबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट शुरु भएको हो । संघिय सरकारको १ करोड २८ लाख रुयियाँमा फेयर टे«ड प्रालिले निर्माण गरेको छ ।

जिल्ला अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डले जिल्लामा अब अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार जिल्ला अस्पतालमा रहेको प्लान्टले प्रतिदिन ५० बढी सिलिन्डरल अक्सिजन भर्न सकिन्छ, अक्सिजनको अभावका कसैले ज्यान गुमाउनु पर्दैन । जिल्लाका सबै स्थानीय तहहरुले सञ्चालन गरेका अस्पताल, जिल्लाका अन्य अस्पताल तथा कोरोना मात्र नभई दमलगायतका विरामीका लागि घरमै लैजान पनि अक्सिजन पर्याप्त हुने अध्यक्ष पाण्डेको भनाइ छ । अध्यक्ष पाण्डेले सिलिन्डर भरेको कति लिने भन्ने सेवा शुल्क नतोकिएको बताउँदै केही दिनमै, अत्यन्त न्यून शुल्कको सेवा शुल्क तोकिने पनि जानकारी दिनुभयो ।

अक्सिजन प्लान्ट जडान गर्नुभएका इन्जिनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४ सय २० लिटर प्रतिमिनेट रहेको बताउनुभयो । श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुस्टरले प्रति २० मिनेटमा एक सिलिन्डर भर्न सक्ने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार एक दिनमा ५० सिलिन्डर भर्न सकिन्छ, बुस्टर ठूलो राखियो भने एक दिनमा १ सय सिलिन्डर भर्न सकिने प्लान्ट हो ।

पाल्पा अस्पतालको परिसरमा निर्माण गरिएको प्लान्ट ४० किलोवाट क्षमताको रहेको छ ।