नेपाललाई हिन्दुराज्य बनाउने राणाको दाबी


दोलखा, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले मुलुकलाई धर्म निरपेक्षतामा लाने राजनीतिक दलहरुसँग आफ्नो पार्टीले प्रतिस्पर्धा गर्दै मुलुकलाई हिन्दू राज्य बनाउने दाबी गर्नुभएको छ । राप्रपा दोलखाको जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले मुलुकलाई हिन्दुराज्य बनाएर सबै जातजाति, धर्म, सम्पदायको सम्मान तथा परम्परागत संस्कार संस्कृतिको संरक्षण गर्ने बताउनुभएको हो ।

अध्यक्ष राणाले साम्यवादी विचारधाराका कम्युनिस्ट पार्टीहरुको एकतामा गठन भएको सरकारकै कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तीन टुक्रा भएको र शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले पनि दुई महिनाको अवधिमा सरकारलाई पूर्णता दिन नसकेर लाजमर्दो काम गरेको बताउनुभयो ।

उहाँले मुलुकमा प्रजातन्त्रको संरक्षण गर्ने पार्टी राप्रपामात्र भएको दाबी गर्नुभएको छ । केन्द्रीय निर्वाचनमा अध्यक्षको दाबी गर्ने नेता धेरै हुन सक्ने उल्लेख गर्नुहुँदै अध्यक्ष राणाले अब कुनै पनि बहानामा राप्रपा विभाजन नहुने दाबीसमेत गर्नुभयो ।

राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा राप्रपा नेता एवं पूर्वगृहमन्त्री बुद्धिमान तमाङ, सांसद राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरु सुन्दरप्रकाश खड्का, शोभित उप्रेती, विजय खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।