भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै



विनोदसिंह विष्ट, बैतडी ।

बैतडीका स्वास्थ्य संस्था र अस्पतालहरुमा भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी ह्वात्तै बढेका छन् । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् ।

जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो । पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको छ, लक्षणहरु कारोनासँग मिल्दोजुल्दो हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा. जोशीको भनाइ छ । ‘गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको छ, कुनै–कुनै ज्वरोका बिरामीलाई भर्ना गरेर पनि उपचार गर्नुपरेको छ, अहिले पनि २ जना भर्ना छन् ।’ –उहाँले भन्नुभयो ।

मौसम आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा. जोशीको कथन छ । ‘निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्’, डा. जोशी भन्नुहुन्छ– ‘मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।’

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका भएका श्रीकोट स्वास्थ्यचौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । ‘स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकीका छन् ।’ –उहाँको भनाइ छ ।

सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर निजी मेडिकलहरुमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताउनुभयो । बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उहाँको भनाइ छ । ‘यस्ता बिरामीले झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा जोड दिनुपर्छ ।’ –उहाँले भन्नुभयो ।

मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो । वर्षात्को समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. जोशीले आग्रह गर्नुभएको छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्