उपत्यकाका विद्यालय आंशिकरूपमा खुला

औपचारिक निर्णयको पर्खाइमा दुई महानगरपालिका


ईश्वरराज ढकाल, काठमाडौं ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् ।

विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका विद्यालय धमाधम खुल्न थाले पनि निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले काठमाडांैं र ललितपुर महानगर शिक्षा समितिले निर्णय गरेपछि मात्रै विद्यालय खोल्ने जनाएका छन् । यद्यपि ती संस्था आबद्ध केही विद्यालयले ठूला कक्षा सञ्चालन गरिरहेका छन् । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले उपत्यकाका दुई महानगरपालिकाबाहेक अधिकांश नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेको बताउनुभयो । महानगरपालिकाको हकमा औपचारिकरूपमा निर्णय नगरेसम्म विद्यालय खोल्ने अवस्था नभएको उहाँको भनाइ छ ।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले प्याब्सनअन्तर्गत महानगर र नगरपालिका कमिटीले स्थानीय निकायको समन्वयमा विद्यालय खोल्न सक्ने बताउनुभयो । कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको अवस्थामा विद्यालय खोल्दा समस्या नपर्ने उहाँको भनाइ थियो ।
तर, काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिकरूपमा निर्णय नगरेसम्म विद्यालय खोल्न सक्ने अवस्था नभएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘तैपनि कोरोना संक्रमण कम भएका र कम विद्यार्थी संख्या भएका महानगरका केही मझौला विद्यालय खुल्न थालेका छन् ।’

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले महानगर शिक्षा समितिले निर्णय नगरी विद्यालय खोल्न नसकिने जिकिर गर्दैै भन्नुभयो– ‘हामीले पर्सि भदौ ३१ गते बैठक राखेका छांै, सोही बैठकले निर्णय गर्नेछ ।’

यसैबीच कामपाले सबैको निर्णयमा एकरूपता भए इन्द्रजात्रापछि मात्र विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ । तर, ९ नगरपालिकाले आन्तरिक छलफल गरी विद्यालय सञ्चालन गर्न थालिसकेका छन् । उपत्यकाको गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुला गरेसँगै दुई महानगरबाहेक सबैले खुला गर्न थालेका हुन् । उपत्यकाको गोदावरी, चन्द्रागिरि, शंकरापुर, दक्षिणकाली बूढानीलकण्ठ, टोखा, मनहरालगायतका स्थानीय तहले विद्यालय खुला गरिसकेका छन् ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुला गरेपछि काठमाडौंका १० वटा नगरपालिकालाई दबाब परेको बताउँदै असोज १ गतेबाट सबै विद्यालय खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सबै विद्यालयलाई आन्तरिक सर्कुलर जारी गरिसकेको जानकारी दिँदै भन्नुभयो– ‘तर, दुई महानगरपालिकाले भने अवस्था हेरेर केही दिनपछि मात्रै निर्णय गर्ने जनाएको छ ।’

काठमाडौं उपत्यकामा झन्डै १ हजार ८ सयको हाराहारीमा निजी विद्यालय सञ्चालित छन् । प्याब्सन अध्यक्ष श्रेष्ठले बढी विद्यार्थी भएका विद्यालयमा दुई सिफ्ट वा बारअनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय खुला गर्ने तयारी भइरहेको बताउनुभयो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले विद्यार्थीको पढाइ डामाडोल भएकोमा चिन्ता व्यक्त गर्दै सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बताउनुभयो ।

ललितपुरका शिक्षा विभाग प्रमुख महेन्द्र खत्रीले सबै सरोकारवालासँग पहिलो चरणको बैठक बसिसकेका जानकारी दिँदै भन्नुभयो– ‘ललितपुरको बुंगमतिलगायत भित्री शहर बाहिरका केही र थोरै विद्यार्थी भएका विद्यालय क्रमशः खुला हुँदै गइरहेको अवस्थामा महानगरभित्रका घना बस्ती भएका शहरी क्षेत्रमा के गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको छ ।’

यसैबीच, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले उपत्यकाका विद्यालय खोल्न हतार गर्न नहुने बताउनुभएको छ । उहाँले काठमाडौं र ललितपुरको शहरी क्षेत्रमा कोरोना संक्रमणको अवस्था अझ पनि नियन्त्रणमा नआइसकेको बेला विद्यालय खुला गर्न हतार गर्न नहुने बताउनुभएको छ ।

‘काठमाडौंमा अझै पनि ६ हजारको संख्यामा सक्रिय संक्रमित रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भए त्यसलाई खतराको अवस्था मानिन्छ । यही अवस्थामा तत्काल विद्यालय खोल्ने विषयमा हतारमा निर्णय गर्न हुँदैन ।’ –भण्डारीले भन्नुभयो ।