पहिरो पीडितका लागि सशस्त्रले बनायो अस्थायी आवास


मिला दरै, तनहुँ ।

केही दिन लगातार परेको वर्षा रोकिएपछि ठाउँ ठाउँमा सुख्खा पहिरोले भानु नगरपालिका–११ राम्चेवासी जोखिममा परेका छन् । गत बुधबार सुख्खा पहिरो खसेपछि राम्चेबासीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सशस्त्र प्रहरीले अस्थायी वासस्थान निर्माण गरेको छ ।

सुख्खा पहिरोबाट विस्थापित परिवारका लागि सशस्त्र प्रहरीले अस्थायी बासस्थान निर्माण गरेको हो । भानु नगरपालिका–२ नारेश्वरटारस्थित सशस्त्र प्रहरी बल नम्बर २३ मनकामनागणले अस्थायी बासस्थान निर्माण गरेको हो । सशस्त्र प्रहरीका ३० जनाको टोलीले चार दिन लगाएर अस्थायी आवास निर्माण गरिएको गणपति सञ्जय भट्टराईले जानकारी दिनुभयो ।

सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ सोही ठाउँ नजिकै अस्थायी बासस्थान निर्माण गरिएको उहाँले बताउनुभयो । भानु नगरपालिका र रेडक्रसले उपलब्ध गराएको बाँस र त्रिपालबाट अस्थायी बासस्थान निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । पीडितलाई अस्थायी आवासमा सार्ने तयारी भइरहेको प्रजिअ आचार्यले बताउनुभयो ।

सुख्खा पहिरो खस्दा राम्चेका १२ घर जोखिममा परेका थिए । एक साता अघि गृहमन्त्री बालकृष्ण खाँडले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई टेलिफोन गरी क्षतिको सम्बन्धमा जानकारी लिई राहत तथा उद्दारको लागि निर्देशन समेत दिनुभएको थियो ।

सुख्या पहिरोको खसेको बस्तीमा पुनः पहिरो जान सक्ने जोखिम भएकाले वैकल्पिक स्थानको खोजी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । ‘जोखिमबाट जोगाउनका लागि अस्थायी स्थानमा बस्ने व्यवस्था गरिएको छ, स्थायी बासस्थानको खोजी जारी छ,’ उहाँले भन्नुभयो । तत्कालका लागि सशस्त्र प्रहरीको सहयोगमा अस्थायी आवास बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ ।