पलिका सभापतिमा २७ जना चुनावी मैदानमा


नेपाल समाचारपत्र, इलाम। 

आउँदो असोज ९ गते हुने नेपाली कांग्रेसको पालिका अधिवधेशनमा जम्मा २७ जना उम्मेदवारबीच कडा टक्कर हुने भएको छ । १० पालिका रहेको इलाममा ९ वटा पालिकामा कांग्रेसको सभापतिका लागि २७ जना उम्मेदार चुनावी मैदानमा उत्रिएका हुन् ।

१० पालिकामध्ये चुलाचुली गाउँपालिकामा मात्र सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको कांग्रेस इलाम स्रोतले जनाएको छ । सोही पालिकामा राजेन्द्र केरुङ गाउँपालिका सभापतिमा सर्वसम्मत चयन हुने सम्भावना बढेर गएको बताइएको छ । बाँकी ९ वटा पालिकामा सभापति सहित अन्य पदमा चुनाव हुने निश्चित झै भएको छ । त्यसमा सबैभन्दा बढी इलाम नगरपालिकामा सभापतिमा ५ जनाले उम्मेदारी घोषणा गरेका छन् । त्यसपछि देउमाई र सूर्योदय नगरपालिकामा ४–४ जना, रोङ र फाकफोकथुम गाउँपालिकामा ३–३ जना, माङसेबुङ, सन्दकपुर माईजोगमाई गाउँपालिका र माई नगरपालिकामा २–२ जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका हुन् ।

कांग्रेस जिल्ला स्रोतका अनुसार इलाम नगर सभापतिमा तीर्थराज गुरुङ, लीलाप्रसाद थापा, अमृतलाल श्रेष्ठ, निर्मल राउत र सोमनाथ सुसेली चुनावी मैदानमा उत्रिँदा देउमाई नगर सभापतिमा दिलीप कार्की, कृष्ण बराल, भवानी साङपाङ राई पदम कटुवाल चुनावी मैदानमा उत्रनुभएको छ । यस्तै, सूर्योदय नगर सभापतिमा सोनाम छिरिङ काजी, मणि गुरुङ, सुरेन्द्र पौडेल र जीवनकुमार नेपाल तथा रोङ गाउँपालिकामा देवीप्रसाद अर्याल, हरि बुढाथोकी र सुवास स्याङ्बो पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिनुभएको हो ।

यसै गरी, फाकफोकथुम गाउँपालिकामा रामकुमार श्रेष्ठ, डिगबहादुर थापा र टेकवीर नेम्वाङको सभापतिमा उम्मेदवारी घोषणा हुँदा माई नगर सभापतिमा हेमबहादुर लिम्बु र पुष्प गिरी, माङसेबुङ गाउँपालिका सभापतिमा चन्द्र साँवा र अमरकुमार राई, सन्दकपुर गाउँपालिकामा तुला गुरुङ र धनबहादुर खाम्दाक तथा माईजोगमाई गाउँपालिकामा नरेन्द्र देवान र वेद चापागार्इं पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुभएको हो । उता दुईवटा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्रीय सभापतिका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा सक्रिय बन्नुभएको छ । जसमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दुर्गा बराल, शमशेर राई र भिष्म प्रधान चुनावी मैदानमा उत्रँदा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो, नूतनदेव दुलाल र मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रनुभएको छ । चुनावी मैदानमा आएका उम्मेदवारहरु यतिखेर मतदाता रिझाउन व्यस्त छन् ।