मलेसिया गएका युवा १६ वर्षदेखि ‘बेपत्ता’


दुर्गाप्रसाद शर्मा, पर्वत। 

रोजगारीका लागि मलेसिया जानुभएका पर्वतको महाशिला गाउँपालिका–१ होस्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि बेपत्ता हुनुहुन्छ । धन कमाउन भनेर मलेसिया गएका परिवारका साहिँला छोरा सर्वजित मलेसिया पुगेपछि परिवारको सम्पर्कविहीन हुनुभएको हो । उहाँ ०६२ सालमा मलेसिया जानुभएको थियो ।

राम्रो लाउने, मीठो खाने सपना बोकेर विदेश पठाएको छोरा बेपत्ता बनेपछि परिवार चिन्तित बनेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गर्नुभएको छ । ‘धन कमाउला भनेर विदेश पठाएको छोराको कुनै खबर नपाउँदा हामी असाध्यै पीडामा छौं’, आमा विष्णुमायाले भन्नुभयो– ‘धन कमाउने, मीठो लाउने, राम्रो लगाउने कुरा त सपना नै भयो, उल्टै छोराको पीरले भोक–निद्रा हराएको छ ।’

मलेसिया गएको ४ वर्षसम्म सर्वजितले फोन सम्पर्क गरिरहेको उहाँले बताउनुभयो । त्यसपछि कुनै सम्पर्क नै भएको छैन । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत् विपत्ति परेर हो कि अथवा केही भयो कि? छोराको अवस्था थाहा पाउन नसकेपछि पीरमा परेको उहाँको भनाइ छ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोराको वियोगमा आमा हरेक दिन रुने, मुर्छित हुने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विक बताउनुहुन्छ ।

१६ वर्षअघि काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेई कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजितका आफन्त तथा जिल्ला समन्वय समिति पर्वतका सदस्य विष्णुराम विकले बताउनुभयो । ४ वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहाँबाट सम्पर्कविहीन भएको उहाँको भनाइ छ । सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको विकले बताउनुभयो ।

विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् ।