पाल्पाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ



कविराज नेपाल, पाल्पा ।

विश्वभर फैलिइरहेको कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ हुन थालेको छ । संकट व्यवस्थापन समितिको निर्णयलाई पालना गर्दै स्थानीय सरकारले विद्यालय खोल्ने निर्देशन दिएसँगै विद्यालय खोलिएको हो ।

गत बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैंठकले वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय सञ्चालन गर्ने जिम्मा सम्बन्धित स्थानीय सरकारलाई नै दिएपछि यहाँका विद्यालय खुल्न थालेका हुन् । १० वटा स्थानीय तह रहेको जिल्लामा रम्भा गाउँपालिकाले आइतबारदेखि नै विद्यालय सञ्चालन गरेको बताउँदै जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय र स्मार्ट लकडाउनको कार्ययोजनाअनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो ।

त्यस्तै, माथागढी र रिव्दीकोट गाउँपालिकाले पनि आज सोमबारदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने भएका छन् । उता तानसेन नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरु असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी थालेको छ । सरोकारवालाहरुसँगको छलफलपछि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न थालिएको नगर शिक्षा अधिकृत रेशमलाल न्यौपानेले बताउनुभयो ।

त्यसै गरी, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले पनि हिजो आइतबारदेखि नै विद्यालय सञ्चालन गरेका छन् । बगनासकाली गाउँपालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाले पनि आज सोमबारदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ । जिल्लाका पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकाले पनि छिट्टै नै विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्