अक्सिजन प्लान्ट स्थापना अन्योलमा


विनोदसिंह विष्ट, बैतडी ।

गत असारमै जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भए पनि हालसम्म उक्त कार्य अन्योलमा रहेको छ । सम्झौता गरिएको कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट स्थापनामा ढिलाई भएको हो ।

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र अस्पतालबीच सम्झौता भएको थियो । तर, हालसम्म पनि अक्सिजन प्लान्ट स्थापनाको काम शुरू हुन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।

प्लान्ट स्थापनाका लािग संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएको थियो । त्यसपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्स छनोट भएको थियो ।

गत आर्थिक वर्षभित्रै जनाड गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको भए पनि हालसम्म प्लान्टसमेत नेपाल नभित्रिएको खबर आएको अस्पतालका प्रमुख डाक्टर जोशीको भनाइ छ । असारमा जडान कार्य नसकिने भनेर कम्पनीले साउनसम्म म्याद थप्न आग्रह गरेअनुसार एक महिना म्याद थपिएको थियो । कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा आइपुगेको छैन भन्ने जवाफ आएको छ उहाँ बताउनुहुन्छ । ‘कम्पनीले सम्झौता गरेको भए पनि समयमा काम नगर्दा अन्योलता थपिएको छ, अबको एक हप्ता पर्खिन्छौं, त्यसपछि बोलपत्र हालेको अर्को कम्पनीसँग सम्झौता गर्छाैं ।’ –प्रमुख डाक्टर जोशीले भन्नुभयो ।

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने उपचारमा समस्या हुने देखिएको छ ।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । अक्सिजन प्लान्ट स्थापना भएपछि ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको थियो ।

अस्पतालमा १ सय ६ बढी अक्सिजन सिलिन्डर छन् भने २५ कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।