हरायो रंगशालाको ३६ लाखको बर्मुडा दुबो



नेपाल समाचारपत्र, बाँके ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा ५० करोडको संरचना बन्यो । पौडी पोखरी, भारोत्तोलन हल, सुटिङ हल, कभर्ड हल मर्मत, प्याराफिटसहितको आधुनिक रंगशाला बनेर तयार भयो । रंगशालाको फुटबल मैदानमा बर्मुडा दुबो रोपियो । आठौं राष्ट्रिय खेलकुद सकियो, त्यसपछि रंगशालाको करोडौको संरचनाको रेखदेख र व्यवस्थापन कसले गर्ने भन्ने बहस शुरू भयो । यो बहस अझै निरुपण भइसकेको छैन । अहिलेलाई संघ मातहत रंगशालालाई राखिएको छ ।

पछिल्लो दुई वर्ष कोरोनाकाल रह्यो । यो बीचमा रंगशाला बन्द नै रह्यो । कोरोनाको कहर कम हुँदै जाँदा फेरि रंगशालामा खेलाडीको उपस्थिति गराउने चर्चा चलेको छ । खेलाडीको उपस्थिति गराउने अर्थात् प्रतियोगिताहरू गराउन दिने तयारी गरिरहँदा रंगशालाको हालत भने दयनीय भएको छ ।

फुटबल मैदान र ट्र्याकमा घँुडाघुँडा घाँस थियो । प्याराफिट धुलैधुलो । घाँस काट्न र सरसफाइ गर्न कम्तीमा ५० हजार लाग्ने अवस्था छ । केन्द्रबाट दुई वर्षदेखि एक रुपियाँ पनि पठाइएको छैन । घाँस काट्ने एउटा मेसिन पनि बिग्रिएर थन्किएको छ । न त आवश्यक जनशक्ति नै छ ।

यस्तो अवस्थामा रंगशालाको घाँस कसले काट्ने ? प्याराफिटलाई कसरी सफा गर्ने ? कुरा गरेर मात्रै त भएन । काम देखिनुप¥यो । एक दिन पत्रकार कृष्ण अधिकारी र रोयल नेपालगञ्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारीको आग्रहमा पूर्वराष्ट्रिय खेलाडी भैरवप्रसाद गणका प्रमुख सेनानी जनमत कार्कीले रंगशाला हेर्नुभयो । मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले रंगशालाको वास्तविकता बुझाएपछि मैदानको घाँस काट्ने र प्याराफिटको सफाइ गर्ने कुरा भयो ।

आइतबार भैरवप्रसाद गण र जिल्ला प्रशासन कार्यालयबाट घाँस कटर मेसिन ल्याइयो । भैरवप्रसाद गणबाट नेपाली सेनाको टोली नै आयो । उनीहरूले मैदान, ट्र्याकको घाँस काट्न शुरू गरे । प्याराफिटमा झाडु लगाए । फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस नामोनिसान देखिएको छैन । स्थानीय जातको घाँसले रंगशाला ढाकिएको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले आर्थिक अभावमा रंगशालाको पूर्ण सरसफाइ र व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार, रंगशालाको सरसफाइदेखि व्यवस्थापनका लागि वार्षिक १० लाख रुपियाँ पठाउनुपर्छ । दुई वर्षदेखि पैसा नै आएको छैन ।

तीन दिनमा मैदान र ट्र्याकको घाँस काटिसक्ने बताइएको छ । दुईवटा मेसिनले घाँस काटिरहेको छ । घाँस काटेर खेल्न मिल्ने भएपछि खेलाडीहरूलाई अभ्यास गर्न दिने तयारी गरिएको छ । रंगशालामा फुटबल खेल्न नदिइएकाले पनि घाँस उम्रिएको हो । अर्कोतिर रंगशालामा फुटबल प्रतियोगिता र अभ्यास गर्न नपाएकोमा यहाँका खेलाडी रुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्