डढेलोले वालिङका गाउँमा खानेपानीको हाहाकार



स्याङ्जा।

जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ पाँडेथोक र वडा नं ६ को पाखुरे गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोले १ हजार मिटर भन्दा बढी पाइप जलेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो । वनमा लागेको आगोले पाईप जलेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । छरछरे–पाँडेथोक सिंचाई तथा खानेपानी योजना अन्तर्गतको करीव १ हजार ७ सय मिटर पाईपमध्ये अधिकांश पाईप जलेर नष्ट भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । वस्ती नजिकैको जङ्गलमा लागेको आगोले गाउँमा ल्याईएको पाईप नष्ट ग¥यो उनले भने, ‘पाईप नष्ट भएपछि अहिले गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।’

आगलागीबाट पाईप जलेर नष्ट भएपछि पाँडेथोक र पाखुरेका धेरै घरमा खानेपानी अवरुद्ध भएको छ । जङ्गलमा जमिनमाथि पाईप बिछ्याईएको छ । चट्टान र ठाडो भीर भएकाकारण वनमा पाईप जमिनमुनी गाड्न नसकिएकाले समस्या भएको उनले बताए । वस्तीदेखि करीव १ हजार ७ सय मिटर टाढा रहेको मुहानबाट मैदानसम्म ल्याईएको पानीको पाईप आगोले डढेर पूर्णरुपमा नष्ट भयो उनले भने, ‘मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर प्रत्येक घर–घरमा वितरण गरिएको छ ।’ गाउँमा खानेपानीको समस्या भएपछि मानिसहरुले गाउँभन्दा तल रहेको गोभाने पँधेराबाट गाग्रीमा बोकेर पानी खान बाध्य भएका छन् ।

गाउँबाट झण्डै आधा घण्टाको दूरीमा रहेको गोभाने पँधेराबाट पालो पर्खेर एक गाग्री पानी ल्याउँदा बिहाननै जाने गरेको उनले बताए । धेरै भयो पानी परेको छैन, जताततै खडेरी छ, खानेपानीका मुहानहरु पनि सुक्दै गएका छन् उनले भने, ‘पानीको जोहो गर्न पुरानो कुवा, पँधेरा तथा खोल्सा खोल्सी धाएका छौं ।’ मानिसले गाग्रीमा बोकेर गुजारा चलाएपनि पशुचौपाया तथा तरकारी खेतीमा समस्या भएको छ । ब्यवसायिकरुपमा मौसमी तथा बेमौसमी तरकारी खेती हुँदै आएको पाँडेथोक तथा पाखुरेमा पानी आउन बन्द भएपछि तरकारीका बोट बिरुवाहरु सुक्न थालेका छन् । अहिले बारीमा रहेका काँक्रा, घिरौंला, टमाटर, बोडा बोडी, करेला, सिमी लगायतका तरकारीका झालहरु सुक्न थालेकाले किसानहरुमा चिन्ता थपिएको स्थानीय अगुवा ब्यवसायिक कृषक यज्ञप्रसाद लामिछानेले बताए ।

वि.सं २०६३ सालमा मुल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका स्थानीयले सिंचाई र खानकालागि पानीको प्रयोग गर्दै आएका थिए । लामो दूरीमा रहेको पाईप जलेपछि अहिले गाउँमा खानेपानी र सिंचाईको समस्या भएको वडा नं. ५ का वडा अध्यक्ष छविलाल आलेले बताए । सबै पाईप फेरेर अर्को नयाँ पाईप बिछ्याउन वडामा पर्याप्त बजेट नभएकाले नगरपालिका कार्यालयसँग अनुरोध गरिएको उनको भनाई छ । गतवर्ष पनि पाँडेथोक र पाखुरेका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाईप जलेर नष्ट भएको थियो । प्लाष्टिकको पाईपमार्फत वनमा अप्ठ्यारो र पहरो छिचोलेर पानी ल्याईएको छ उनले भने, ‘गतवर्ष पनि पाईप जलेर नष्ट भयो, अहिले पनि सोही समस्या देखियो, वनमा पाईप पुर्न सकिने अवस्था छैन ।’

लामो समयसम्म पानी नपरेकाकारण वडाका अन्य गाउँका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाईप पनि जलेर नष्ट भएको छ । दिनहुँ जसो आगलागीका घटनाहरु भईरहेका छन्, जसले गर्दा जमिनमा नपुरीकन ल्याईएका पानीका पाईपहरुमा क्षति पु¥याएको छ उनले भने, ‘आगलागीकैकारण पाईप जल्दा अहिले वडाका झण्डै १ सय ९० घरधुरीमा खानेपानीको समस्या देखिएको छ ।’ पाईपमार्फत घर–घरमा आएको पानीमा समस्या देखिएपछि अहिले स्थानीयहरु पुराना कुवा, पँधेरा, खोल्सा खोल्सीको भर पर्नुपर्ने बाध्यता रहेको छ । गाउँमा देखिएको खानेपानीको समस्या समाधानकालागि वडाले पहल थालेको वडा अध्यक्ष आलेले बताए ।

वनमा जानीजानी डढेलो लगाउने गरेको स्थानीय बताउँछन् । भुइँबाट घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण स्थानीय मध्ये कसैले अरुको आँखा छलेर डढेलो लगाउने गरेको गाउँलेहरु बताउँछन । स्थानीयले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, रुखपात जलेर नष्ट भएको छ । लापरवाहीका कारण गाउँमा खानेपानीको समस्या सिर्जना भएकाले यस्ता गलत काममा संलग्न हुनेलाई पहिचान गरी उचित दण्ड सजायँ दिन स्थानीय तहका जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने माग गाउँवासीको छ ।

प्रतिक्रिया दिनुहोस्