बीपीका उपकुलपति कारबाहीमा

5.92k
Shares

काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । आन्दोलनका मागहरू सम्बोधन भइरहेको आश्वासन दिँदै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले तयार पारेको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने पनि जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गर्न सबै कागजात लिइसकेको र छानबिन भइरहेको भन्दै मन्त्रालयले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुत्ति मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भई कार्य अघि बढाइसकेको पनि जनाएको छ ।

साथै प्रतिष्ठानको रजिस्ट्रारको राजीनामा स्वीकृत भइसकेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता पौडेलले सिनेट बैठकबाटै उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सम्बन्धमा आवश्यक परामर्श भइरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन पनि आग्रह गर्नुभएको छ ।