नक्कली बम राखेर फिरौती माग्ने ३ पक्राउ

2.35k
Shares

काठमाडौं, (नेस) ।

चार दिनअघि पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उक्त नक्कली बम राख्ने व्यक्तिको खोजीमा लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पताल प्रशासनसँग फिरौती मागेको पत्ता लगाएपछि तीन जनालाई प्रक्राउ गरेको हो ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आइतबार परिसरमा आयोजत पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गर्नुभएको थियो ।

प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं फुटुङ बस्ने आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र रोल्पा परिवर्तन गाउँपालिका–१ खोलावाङका अम्मरबहादुर रोक्का मगरलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये आशिष कुँवरले अस्पतालका एक चिकित्सकलाई पटक–पटक फोन गरेर फिरौतीबापतको रकम नदिए अस्पताल र परिवारलाई उडाइदिने धम्की दिएपछि अस्पतालमा बम राखेको बताइएको छ । आशिषले फिरौतीबापत ३ करोड रुपियाँ माग गरेको र उक्त रकम लिएर नागढुंगा आउन चेतावनी दिएका थिए ।

अस्पतालले उनीहरुको मागका बारेमा खासै वास्ता नगरेपछि उनीहरुले अस्पतालको तेस्रो तलामा बम राखेको बताएका थिए । उनीहरुले अस्पतालमा फोन गरेर तेस्रो तलामा गएर हेर्न चेतावनी दिएपछि तेस्रो तलामा गएर हेर्दा शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो । उक्त बम तर्साउनलाई मात्रै राखेको डिस्पोजल टोलीले बताएको थियो । यद्यपि त्यसमा के–कस्ता विस्फोटक पदार्थहरू थिए भन्ने बारेमा परीक्षण गरिरहेको प्रहरी एसएसपी सिंहले बताउनुभयो ।

सिंहका अनुसार आशिष कुँवरले उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गराएका थिए । उनले अस्पतालका कर्मचारीदेखि डाक्टरहरूसमेतको सम्पर्क नम्बर लिएका थिए । सोही आधारमा उनले योजना बनाएर अस्पतालका चिकित्सकलाई पटक–पटक फोन गरेर फिरौती मागेका थिए ।