नेकपा (एस) प्रदेश नेतामा पाण्डे, प्रदेश सरकारलाई समर्थन फिर्ता

प्रदेश सरकारको नेतृत्वमा दाबी

1.3k
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

वागमती प्रदेशमा चौथो शक्ति बनेको नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएसँगै उक्त दलले वर्तमान सरकारलाई ‘समर्थन नरहेको’ पत्र संसद्मा दर्ता गराएको छ ।

प्रदेशसभा प्रतिनिधित्व गर्ने १३ सांसद नेकपा (एकीकृत समाजवादी) का सदस्य भइसकेको निर्वाचन आयोगबाट प्रमाणित भएको हुँदा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नभएको पत्र प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराइएको हो ।

बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरिएको नेता पाण्डेले जानकारी दिनुभयो । एमालेबाट १३ सांसद बाहिरिएपछि पनि मन्त्रिपरिषद् बिस्तार गर्नुभएकी मुख्यमन्त्री शाक्य अब भने आधिकारिकरूपमा नै स्पष्ट अल्पमतमा पर्नुभएको छ । सरकारले राजनीतिक दल विभाजन गर्न आवश्यक पर्ने सांसद वा केन्द्रीय सदस्यको संख्या घटाएर अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एस) बनेको छ ।

हेटौंडामा बसेको दलको पहिलो बैठकले पाण्डेलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको मकवानपुरकी सांसद् मुनु सिग्देलले जानकारी दिनुभयो । बैठकले धादिङ प्रतिनिधिसभा १ (१) बाट प्रतिधित्व गर्ने पाण्डेलाई संसदीय दलको नेता चयन गरेको हो ।

निर्वाचन आयोगले पठाएको एकीकृत समाजवादीको आधिकारिता र प्रदेशसभामा आवद्ध सांसदहरुको नामावली आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै संसदीय दलको पहिलो बैठक बसेको थियो । दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नभएको पत्र प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जानकारी गराउने निर्णय गरेपछि पत्र दर्ता भएको हो । संसदीय दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ सांसदको उपस्थिति थियो ।

निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को आधिकारिकता र आबद्ध सांसदहरुको नामावलीसहित पत्र वागमती प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ७ पुगेको छ ।

बागमती प्रदेशसभामा एमाले ४३ सांसदसाथ पहिलो, २३ सांसदसाथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसदसाथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहित नेकपा (एकीकृत समाजवादी) चौथो, ३ सांसद भएको विवेकशील साझा पार्टी पाँचौं, २–२ सांसद् रहेका राप्रपा र नेमकिपा छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा १ सांसद स्वतन्त्र हैसियतमा छन् ।

प्रदेश सरकारको नेतृत्वमा दाबी

दलका नेता पाण्डेले वागमती प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गर्नुभएको छ । उहाँले वागमती र १ नम्बर प्रदेशमा नेकपा (एस) लाई दिने केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुबीच समझदारी भएको बताउनुभयो । पाण्डेले वागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको पनि दाबी रहे पनि आफू नै मुख्यमन्त्री हुने बताउनुभयो । ‘उहाँले चाहना गर्नुभएको हुन सक्छ । तर, पार्टीको निर्णयअनुसार अगाडि बढ्ने कुरा भएको हुँदा वागमती प्रदेश सरकारको नेतृत्व पार्टीले नै निर्णय गर्नेछ ।’ –उहाँले भन्नुभयो ।

गठबन्धनले प्रदेशमा नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि दाबी गर्नुभएको छ । केन्द्रीय नेतृत्वसँग उहाँले आफ्नो दाबी गर्नुभएको छ । गठबन्धनको अर्काे दल नेकपा माओवादी केन्द्र भने तीन प्रदेशमा सरकारको नेतृत्व गरेका कारण वागमती प्रदेशमा भने नेतृत्वको होडबाट पछि हटेको छ ।

नेपाली कांग्रेस वागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले देशका २ वटा प्रदेशमा एकैपटक गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसले ती दुईमध्ये एक प्रदेशमा सरकारको नेतृत्व गर्ने बताउनुभयो । प्रदेश–१ र वागमती प्रदेशमध्ये कांग्रेसले कुनै एकमा र अर्काेमा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने उहाँको भनाइ छ ।