९३ लाख नक्कली नेपाली नोटसहित ९ पक्राउ

1.2k
Shares

गोकुल घोरसाइने, बारा ।

जाली नोटको कारोबार गर्ने एउटा गिरोहका ९ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बारा र रौतहटबाट शनिबार नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले ९३ लाख नक्कली नेपाली रुपियाँ पनि बरामद गरेको छ । निजगढको होटल तारा इन र रौतहटको गुजरा नगरपालिकाको एउटा घरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कलैया एक रात राखेर आइतबार काठमाडौं लगिएको छ ।

काठमाडौंबाट आएको ब्युरोको टोलीले निजगढस्थित होटल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ७ जनालाई बिहान साढे ११ बजे नियन्त्रणमा लिएपछि उनीहरुले दिएको बयानको आधारमा रौतहटको गुजरा नगरपालिका–२ जंगलशैयाबाट दिउँसो ३ बजे थप २ जनालाई पनि नियन्त्रणमा लिएको थियो । टोलीले एउटा घरको गाईभैंसी बाँध्ने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको बारेमा थप विवरण दिन चाहेको छैन । तर, पक्राउ परेका २ महिलासहित ४ पहाडिया र ३ मधेसीमूलका नेपाली नागरिक भएको बुझिएको छ । तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै ‘कनेक्सन’ भएको पनि बताइएको छ ।

होटलमा कोठाभाडामा लिएर बसेको सूचनाको आधारमा ब्युरोको टोली काठमाडौंबाट सीधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिई नेपाल प्रहरीको ‘स्पेसल टास्क फोर्स’ को साथमा ठूलो संख्यामा आएको ब्युरोे टोलीले उच्च सतर्कताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ गरेको हो । छापामारी गर्ने क्रममा ब्युरोका सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएका थिएनन् भने सर्वसाधारणलाई होटलअगाडि सडकमा हिँडडुल गर्न समेत रोक लगाएका थिए ।

ब्युरोको टोलीले छापा मार्न थालेपछि मात्रै इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन् । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन’, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भन्नुभयो– ‘गाउँले र सर्वसाधारणले आफूलाई फोन गरेर सोधखोज गर्न थालेपछि मात्रै थाहा भयोे ।’ इलाका प्रहरी कार्यालयको टोली दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको हो ।

होटलबाट नियन्त्रणमा लिएका ७ जनामध्ये अन्दाजी ३०/३२ वर्षका सुनीलकुमार राम नाम बताउने व्यक्ति पहिलोदेखि नै होटलमा आउने जाने गरेको र पछिल्लो दुई सातादेखि कोठा लिएर नियमित बस्दै आएको होटल सञ्चालक युवराज लामाले बताउनुभयो । ‘८/१० दिनदेखि भने नियमितरूपमा बस्दै आएका थिए’, लामाले भन्नुभयो– ‘५ दिनअघि उनीसँगै थप २ महिला र ४ पुरुष पनि सँगै बस्दै आएका हुन् ।’

उनीहरुले होटलमा ३ वटा कोठा बुक गरेका थिए । रामले होटलमा आफ्नो ठेगाना रौतहटको चन्द्रपुर नगरपालिका लेखाएको र आफूलाई घर जग्गाको कारोबारी भएको बताएका थिए । रामको टोलीमा पछि थपिएका ६ जनाले आफूलाई नवलपरासी घर बताएको लामाले जानकारी दिनुभयो । शुरुका दिनमा बाहिरबाट मोटरसाइकलमा आउने र निस्कने गरेका राम २ महिनायता भने स्कारपियो प्रयोग गर्न थालेको होटल सञ्चालक लामाको भनाइ छ । ‘यसअघि दिउँसो प्रायः होटलमा बस्दैनथे’, लामाले भन्नुभयो– ‘हिजो भने सबै जना होटलमा नै थिए ।’

यसै क्रममा अनुमति नलिई नियन्त्रणमा लिइएका व्यक्तिको भिडियो खिचेको भन्दै प्रहरीले नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष एवं रेडियो निजगढकी समाचार प्रमुख मनिता पाण्डेको भिडियोसमेत डिलेट गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजाँदै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोबाइल खोसेर भिडियो डिलेट गरेको पत्रकार पाण्डेले बताउनुभयो ।

घटनाका बारेमा बारा प्रहरीले अहिलेसम्म पनि थप विवरण उपलब्ध गराएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।