पीडितले कहिले न्याय पाउने ?



यस वर्षको वर्षायाममा परेको पानीले हालसम्म पनि विभिन्न क्षेत्रमा नकारात्मक असर पारेको छ । यस्ता असरबाट परेको मानवीय कठिनाइलाई हटाउन सरकारले आवश्यक पहल गरेको देखिँदैन । मानिसको दैनिक जीवन कष्टकर हुँदा पनि सरकारले त्यसतर्फ ध्यान नदिँदा प्रभावितहरूलाई गुजारा चलाउन मुस्किल परेको छ । यसको पछिल्लो उदाहरण  गण्डकी प्रदेशमा देखिएको छ । गत साता यस क्षेत्र अत्यधिक पानी परेको थियो । पानीका कारण त्यस क्षेत्रको बाटो अवरुद्ध भई यातायातका साधन चल्न सकेका छैनन् । त्यसले गर्दा त्यस क्षेत्रमा खाद्यान्न लगायतका सामान पुग्न सकेको छैन । विशेषगरी गण्डकी प्रदेशका  चार जिल्ला अत्यन्त प्रभावित भई खाद्यान्न अभाव हुन थालेको छ  । ती जिल्लाहरूमा विगत १० दिनदेखि खाद्यान्न अभाव भई मूल्य वृद्धि हुन थालेपछि त्यहाँका बासिन्दा मारमा परेका छन् । यसै गरी खाद्यान्नलगायत अन्य दैनिक आवश्यक पर्ने वस्तुको अभाव भएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा चुवादेखि पातीचौरसम्मको सडक खण्डमा २० ठाउँमा पहिरो गएका कारण पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा बढी असर परेको  छ । ती जिल्लाहरूमा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । यातायात सम्पर्क विच्छेद भएपछि आउजाउ गर्न पनि स्थानीयले सास्ती पाएका छन् । बिरामीलाई सवारी साधनमा पठाउन सकिएको छैन । धनी वर्गले हेलिकोप्टरबाट बिरामीलाई अस्पताल पु¥याए पनि गरिबले त्यसको चाँजोपाँजो गर्न सक्दैनन् । चाडबाडको बीचमा चार जिल्लाका बासिन्दालाई सास्ती भएपछि चाडबाड उनीहरूका लागि  खल्लो भएको छ । बाटो बन्द हुँदा ठूला ठूला सवारी साधन भित्रिन नपाएपछि इन्धनको पनि अभाव भएको छ । ठगी गर्न पल्केका व्यापारीहरूले दैनिक उपभोग्य सामानको अभाव हुन थालेपछि भएका सामानको मनपरी मूल्य लिन थालेका छन् । २ सय ५०  पर्ने स्याउ अहिले किलोको ४ सय रुपियाँ लिन थालिएको छ । तरकारीको भाउ पनि ह्वात्तै बढेको छ । एकातिर गाउँगाउँबाट शहरमा भित्रिने तरकारी सवारी साधनको अभावबाट त्यहाँ नै कुहिने अवस्थामा पुगेको छ भने शहरका बासिन्दाले महँगोमा किन्न बाध्य भएका छन् ।

ती चार जिल्लामा भएको दुःखलाई सरकारले सबैभन्दा पहिला प्राथमिकता दिन आवश्यक भइसकेको छ । बाटोघाटो बिग्रिएर लामो समय भइसक्दा पनि त्यसलाई मर्मत गर्न उदासीन हुँदा त्यहाँका बासिन्दा आक्रोशित हुनु स्वभाविकै हो । कालो बजारीबाट मर्माहत हुन थालेकालाई त्यहाँका बासिन्दाको दुःखलाई ध्यान दिई मूल्यवृद्धि हुन रोक लगाउनुपर्छ । त्यसपछि भत्किएका बाटोघाटोलाई मर्मत गर्न तदारुकता देखाउनुपर्छ । सरकारले अन्य कुरालाई थाँती राखेर भए पनि ती चार जिल्लाका बासिन्दालाई जतिसक्दो चाँडो राहत दिनुपर्छ । अब जति सक्दो चाँडो ती चार जिल्लाको वातावरण पहिलेजस्तै सहज गराउन सम्बन्धित निकायले त्यतैतिर ध्यान दिनुपर्छ । दैनिक उपभोग्य सामानहरूलाई सहज बनाउन विश्वासको वातावरण बनाई तदारुकताका साथ कार्य गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्