‘सत्तापक्षको कदमको आधारमा एमसीसीबारे निर्णय’


काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले विवादित बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्ता पक्षले चाल्ने कदमको आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।

पार्टीको स्थायी कमिटीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सत्ता पक्षले एमसीसी कुन अवस्थामा संसद्मा टेबल गर्छ, सोहीअनुसार निर्णय गरेर अगाडि बढ्नेछौं ।’ नेकपा सत्तामा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको थियो । त्यो कार्यदलले केही संशोधनसहित एमसीसीलाई अघि बढाउने सुझाव दिएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘कतिपय प्रावधानलाई पुनव्र्याख्या गरेर राष्ट्रको हितमा प्रावधान राखेर एमसीसी अघि बढाउने भन्ने त्यस बेलाको भएको निर्णयमा अहिले पनि आफ्नोे पार्टी कायम छ ।’

बैठकले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीको कडा आलोचना गरेको छ । सभामुखले प्रतिपक्ष दलसँग कुनै समन्वय नै नगरी अगाडि बढेको निष्कर्ष निकाल्दै बैठकले सत्ता पक्षको उक्साहटमा सभामुखले अवरोधकै बीच सदन सञ्चालन गरेको आरोप लगाएको छ ।

सभामुखले आफूहरूसँग संवाद नै गर्न नचाहेको टिप्पणी गर्दै भट्टराईले पार्टीले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो । सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या आएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘सभामुख संवादमा आउनै चाहनुभएन । एमालेको संसदीय दलको नेतासँग कुरा गर्नुपर्छ, एमालेको टिप्पणी सुन्नुपर्छ र उचित निकास दिने जिम्मा सभामुखको हो ।’

संसद्मा सभामुख सत्ता पक्ष र प्रतिपक्ष बीचको भूमिकामा हुनुपर्नेमा जोड दिँदै सभामुखले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको उहाँको आरोप थियो । पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।