आफ्नै गृहजिल्लामा नेतृत्व स्थापित हुन दिँदैनन् देउवा


राम धामी, डडेल्धुरा  ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि विवादकै बीच एकपक्षीयरूपमा वडा अधिवेशन गर्न लगाएर जिल्लाका कार्यकर्तामाथि थप अन्याय र अत्याचार गरेको आरोप लागेको छ ।

देउवाले नेपाली कांग्रेस डडेल्धुराले विधिवतरूपमा वडादेखि जिल्ला कार्यसमितिबाट पारित गरेर पठाइएका क्रियाशील सदस्यमा थपघट गरेर आफूले अघि सारेका उम्मेदवार भीमबहादुर साउदलाई जिल्ला नेतृत्वमा ल्याउन अन्तिम प्रयास गर्नुभएको थियो ।

देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा पार्टीको आधिकारिक संरचनालाई बेवास्ता गर्दै जिल्ला कार्यसमिति र मातहतका एकाइ कार्यसमितिहरुले सदस्यता विवादको टुंगो नलगेसम्मका लागि वडा अधिवेशन स्थगित गर्दा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेर एकपक्षीयरूपमा अधिवेशन गरिएको थियो ।

जिल्लाका ५२ वटै वडामा शुक्रबार वडा अधिवेशनको प्रक्रिया अगाडि बढेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभएको थियो । जिल्ला कार्यसमितिको बहुमतका साथै जिल्लाका ५२ मध्ये ४२ वडा कार्यसमितिले अधिवेशन स्थगित गर्ने निर्णय गरेको अवस्थामा डडेल्धुरा जिल्ला कार्यसमितिबिरुद्ध गुटबन्दीमा सक्रिय केही जिल्लास्तरीय नेताहरुको आदेशमा उनीहरुको गुटमा सक्रिय कार्यकर्ताहरुलाई भेला गरेर अधिवेशनको नाटक मञ्चन गरिएको नेपाली कांग्रेस अजयमेरु गाउँ कार्यसमितिका सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।

निर्वाचन केन्द्रमा बाक्लो मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिरहेको जिल्लास्तरीय नेताहरु बताउँछन् ।

केन्द्रीय सभापति देउवाले हालसम्म जिल्लामा नेतृत्व स्थापित हुन नदिएको इतिहास रहेको र यसपटक पनि जिल्लास्तरमा बलियो नेताका रूपमा स्थापित सभापति मल्ललाई सिध्याएर आफूले आदेश दिएअनुसार काम गर्ने व्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउन वडा अधिवेशनको नाटक गरिएको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टको आरोप छ ।

सभापति देउवाकै निर्देशन र संरक्षणमा हाल डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाको संरक्षणमा रहेको गुट गरी कांग्रेसमा दुई गुट सक्रिय छन् । सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, प्रदेशसभाका समानुपातिक सांसद गोविन्दराज बोहरा र भीमबहादुर साउदलगायतका जिल्लास्तरीय नेताहरू छन् ।

जिल्ला कार्यसमितिले सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा सभापति देउवाको निर्देशनमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको र कुनै पनि प्रक्रियामा नआएका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको नेपाली कांग्रेस डडेल्धुराका पूर्वसचिव लोकराज भट्टले बताउनुभयो ।

सभापति देउवाले क्रियाशील सदस्यता विवादको टुंगो लगाएर मात्रै वडा अधिवेशन गर्ने केन्द्रीय नेताहरुलाई आश्वास्त पारे पनि शुक्रबार एकाएक वडा अधिवेशनका नाममा हाल पार्टीको जिम्मेवारीमा रहेका र पार्टीमा योगदान पुर्‍याएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर अत्याचार गरिएको परशुराम नगरपालिका–१२ का सभापति राजबहादुर भण्डारीले बताउनुभयो । उहाँले पार्टीमा लामो समयदेखि योगदान पुर्‍याएका कार्यकर्ताहरुको अवमूल्यन भएको र चाकडी चाप्लुसी गर्ने व्यक्तिहरु हावी हुन थालेको टिप्पणी गर्नुभयो ।

सभापति देउवाले वडा अधिवेशनका नाममा गरेको मनोमानीको प्रभाव आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पर्ने अनुमान गरिएको छ । यसअघि पार्टीभित्रकै विवादका कारण आफ्नो पकड भएको क्षेत्रमा पनि कांग्रेसले चुनाव हारेको थियो । गृहजिल्लामा एकल पकड बनाउँदै आएका सभापति देउवाले आफूभन्दा फरक मत राख्ने र जिल्लामा स्थापित हुन खोज्ने नेताहरुलाई पाखा लगाएको क्रूर इतिहास भएको नेपाली कांग्रेस डडेल्धुराका पाका कार्यकर्ताहरु बताउँछन् ।

२०१४ सालमा नेपाली कांग्रेस डडेल्धुराका संस्थापक सभापति एनडी प्रकाश चटौतको हवाई दुर्घटनामा निधन भएपछि हालसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरिरहेका सबै जिल्ला सभापति हाल देउवासँग छैनन् । स्वतन्त्रता सेनानी सत्यराज पनेरु, देउवासँगै कांग्रेसको राजनीतिमा होमिएका पाका नेता पीएच भट्ट, डीएल भण्डारी, लामो समय नेपाली कांग्रेस डडेल्धुराको सभापति रहेका नेताहरु हिरादत्त भट्ट, रामचन्द्र चटौत, शेरबहादुर ढाँट सभापति देउवाको कोपभाजनमा पर्ने नेताहरु हुन् ।

२०४७ सालदेखि निरन्तर १६ बर्ष नेपाली कांग्रस डडेल्धुराको नेतृत्व गरेका पूर्वसभापति हीरादत्त भट्टले देउवाको साथ छाडेर हाल पौडेल पक्षको राजनीतिमा सक्रियता देखाएका छन् भने चटौत र ढाँटले कांग्रेस पार्टी नै परित्याग गरेका छन् । अधिकांश जिल्लास्तरीय नेताहरु लोकप्रियता हासिल गरेकै कारण सभापति देउवाको निसाना परेको पाका कांग्रेस नेता दीर्घराज जोशीको टिप्पणी छ । उहाँले भन्नुभयो– ‘जिल्ला राजनीतिमा सम्भावना बोकेका र लोकप्रियता हासिल गर्न खोज्ने कांग्रेस नेताहरुलाई देउवाले पाखा लगाउने गरेका छन् ।’
क्रियाशील सदस्यता वितरणमा भएको धाँधली र वडा अधिवेशनका नाममा पार्टी संरचनालाई छलेर गुटगत भेला सम्पन्न गरिएको विषयमा नेपाली कांग्रेस डडेल्धुराले सर्वोच्च अदालतमा न्यायका लागि रिट दर्ता गर्ने तयारी गरिरहेको नेपाली कांग्रेस डडेल्धुराको सभापति पदका आकंक्षी हरिप्रसाद भट्टले बताउनुभयो । उहाँले सभापति देउवाबाटै अन्याय सहनुहुन्न भनेर प्रशिक्षण लिएका कार्यकर्ता भएकाले पार्टीमा भएको अन्याय सहेर नबस्ने जिकिर गर्नुभयो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पार्टीको वडा अधिवेशनका लागि १ सय ९५ जना जनपद र सोही संख्यामा सशस्त्र प्रहरी बाहिरी जिल्लाबाट मगाएर परिचालन गरिएको बताए । सुरक्षाकर्मीको आडमा पार्टीको विधान मिचेर वडा अधिवेशन गरिएको देखाइए पनि स्वयं प्रधानमन्त्री देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा शनिबारसम्म वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा बस्ने क्रियाशील सदस्य नभेटाइएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् । जिल्लाका अधिकांश वडामा कोरम पुग्ने संख्यामा पनि क्रियाशील सदस्यहरु उपस्थित नभएपछि घर–घरमा पुगेर हस्ताक्षर गरिन थालिएको छ ।