कांग्रेस महाधिवेशन : तल्लो तहको अधिवेशनकोे कार्यतालिका परिवर्तन


रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले तल्लो तहको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनको मिति हेरफेर नहुने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्धारित समयमै भदौ १८ गतेदेखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको निर्वाचन समितिले २० जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न नसकेपछि आज आइतबारका लागि तय गरिएको गाउँ/नगर अधिवेशनको मिति असोज ९ गतेलाई सारेको छ । ५७ जिल्लामा वडा अधिवेशन भइसकेको जनाएका कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते गर्ने भएको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार क्रियाशील सूची सार्वजनिक गर्न बाँकी २० जिल्लामध्ये काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु र बर्दियाको सूची निर्वाचन समितिलाई प्राप्त भइसकेको छ । बाँकी १६ जिल्लाको सूची पनि आज आइतबार निर्वाचन समितिलाई उपलब्ध हुने गरी पार्टीभित्र तयारी भइरहेको उहाँको भनाइ छ ।

२० जिल्लाको क्रियाशील सदस्यको सूची प्राप्त भएपछि मात्र एकैपल्ट सार्वजनिक गर्ने भनी निर्वाचन समितिले प्राप्त भइसकेको चार जिल्लाको सूची सार्वजनिक गरेको छैन । निर्वाचन समितिका संयोजक यादव भन्नुहुन्छ– ‘यसअघि पटक–पटक गरी ५७ जिल्लाको सूची सार्वजनिक गरिएको थियो । अब भने बाँकी रहेको सबै जिल्लाको एकैपटक सूची सार्वजनिक गर्ने भनेर हामीले चार जिल्लाको सूची सार्वजनिक गरेका छैनौं । असोज १ गतेलाई निर्धारण गरिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते पुर्‍याइएको छ ।’

नयाँ कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गतेबाट असोज १५ गते सारिएको छ । नयाँ कार्यतालिकाअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते गरिनेछ । यसअघि एक मात्र बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गर्ने भनिएको थियो ।

प्रदेश अधिवेन र केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिएको छ । कार्यतालिकाअनुसार कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गरिनेछ । महाधिवेशनका लागि कार्यक्रम प्रयोजनका लागि भृकुटीमण्डप र निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभागृह बुकिङ गरिसकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।