ओली समूहले कार्यकर्तामा भ्रम सिर्जना गर्न खोजे : प्रदेश इन्चार्ज शाह

7.61k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एमाले अध्यक्ष केपी ओली समूहले कार्यकर्तामा मनोवैज्ञानिक डर सिर्जना गरेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज शाहले पार्टी विभाजन गरे फेरि स्थापित नसकिने भन्दै डर देखाइरहेको बताएकी हुन् । यस्तै उनले आफूहरुले एमालेभित्र विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पनि बताइन् ।

उनले विभाजन हुँदा नयाँ पार्टीको राजनीतिक भविष्य नै नहुने भन्दै कार्यकर्तामा भ्रम सिर्जना गर्न खोज्नु हाँस्यास्पद भएको भनिन् । उनले भनिन्, ‘हिजोजस्तो अवस्था छैन, देश प्रविधिमय बनिसकेको छ । नेताले थाह नपाउँदै जनताले कहाँ के हुँदैछ भन्ने खबर पाइसकेका हुन्छन् । जनता सचेत भइसके,अब हिजोको मालेको जस्तो अवस्था आउँदैन ।’

यस्तै, कार्यक्रममा बोल्ने अधिकांश अछामी नेताहरुले एमाले उपाध्यक्ष भीम रावललाई अर्को  केपी ओलीकाे संज्ञा दिएका थिए । नेकपा (एस)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले एमाले विभाजनको मुख्य कारक केपी ओली प्रवृत्ति नै भएको बताए ।

कार्यक्रममा प्रदेश इन्चार्ज शाह, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर नेताहरु विजय कुँवर, डा प्रेम कुँवर, ध्रुवा देवी कुँवर, शिव ठकुल्ला, रेवन्त कुँवर, योगेन्द्र विष्ट लगायत झण्डै दुई सय नेता कार्यकर्ताको उपस्थिति थियो । भेलाले अछाम काठमाडौं सम्पर्क मञ्चको आयोजक कमिटी पनि गठन गरेको छ ।