एमाले विभाजनको मुख्य कारक ओली प्रवृत्ति : सांसद कुँवर

1.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा राष्ट्रिसभा सदस्य शेरबहादुर कुँवरले एमाले विभाजनको मुख्य कारक केपी ओली प्रवृत्ति नै भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको अहंकारका कारण आफूहरुले विद्रोह गर्न बाध्य भएको बताए ।

एमाले उपाध्यक्ष  भीम रावललाई इङ्गित गर्दै सांसद कुँवरले भने – ‘ माधव नेपाललाई उचाल्ने र आन्दोलन गर्नेहरुले उक्साएर डिलमा पुर्याएर भागे ।’ उनले दोस्रो पुस्ताले घात गरेपछि तेस्रो पुस्ता अघि बढ्न तयार भएको पनि बताए ।  ‘माधव नेपाललाई पार्टीमा बस्न पनि नदिने अर्को पार्टी खोल्न पनि नदिने ठूलो षड्यन्त्र भयो । हामीले सही समयमा सल्लाह गर्यौँ र निर्णय लियौँ । तपाईँहरु अघि बढ्नुस् हामी सहयोग गर्छौँ भन्यौँ ।’ उनले थपे ।

पार्टी विभाजन कुनै व्यक्ति प्रतिको रिसका कारण नभएर कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गरिएको विद्रोह रहेको उनले बताए । आफूहरुले जीवनभर भीम रावललाई साथ दिए पनि यसपटक उनी ओलीकै मतियार बनेपछि उनलाई साथ नदिएको नेता कुँवरको भनाई छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह, नेताहरु विजय कुँवर, डा. प्रेम कुँवर, ध्रुवा देवी कुँवर, शिव ठकुल्ला, रेवन्त कुँवर, योगेन्द्र विष्ट लगायत झण्डै दुई सय नेता कार्यकर्ताको उपस्थिति थियो । भेलाले एकीकृत समाजवादीकाे अछाम काठमाडौं सम्पर्क मञ्चको आयोजक कमिटी पनि गठन गरेको छ ।