माधव नेपालले दश बुँदे सहमति नमानेर पार्टी फुटाए : गुरुङ

798
Shares

प्रताप बानियाँ, म्याग्दी ।

नेकपा एमालेका सचिव एवं स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले दशबुँदे सहमति नमानेर एमाले फुटाएको आरोप लगाउनुभएको छ । एमाले म्याग्दीले आज शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दशबुँदे सहमतिको कार्यान्वयन गर्नुको सट्टा पार्टी फुटाएको बताउनुभएको हो ।

सचिव गुरुङले दुई जना नेतासँग सरसल्लाह गरेर दशबुँदे सहमतिपत्र तयार पारेको बताउँदै पार्टीमा यसलाई कार्यान्वयन गर्नका लागि केपी ओली र माधव नेपाललाई बुझाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केपी ओलीले दशबुँदेको अनुमोदन गर्नुभयो । समर्थन गर्नुभयो र त्यसलाई कार्यान्वयन गर्ने भन्नुभयो ।’ तर माधव नेपालले यसमा मेरो असहमति छ, म यो स्वीकार्न सक्तिन भनेको बताउनुभयो ।

‘माग गर्दैगर्दै जाने, अनि निहुँ झिक्दै जाने, एकपछि अर्को निहुँ झिक्दै जाने, निहुँ झिक्दै जाने, उहाँको उद्देश्य के रहेछ भने पार्टी छोडेरै जाने रहेछ’ उहाँले भन्नुभयो । नेताहरुलाई मिलाउनका लागि अब महाधिवेशनसम्म माधव नेपालजीलाई अर्को अध्यक्ष दिएरै भए पनि पार्टीको एकता जोआगौं भनेर आफूले प्रस्ताव गरेको सचिव गुरुङले बताउनुभयो ।

उहाँले लामो छलफलबाट केपी ओलीले यो प्रस्ताव स्वीकारेपछि विष्णु पौडेल र सुवास नेम्बाङ प्रस्ताव लिएर माधव नेपालकहाँ गएको बताउँदै भन्नुभयो– ‘तर माधव नेपालले कहाँ म जान्छु, पदलोलुप हुन्छ, म पदलोलुप व्यक्ति होइन, विधि र प्रक्रियामा विश्वास गर्ने व्यक्ति हो । जे एन झलनाथजीलाई बनाउनुहोस् ।’ उहाँले जबकी आफूसँग माधव नेपालले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुहोस्, मिल्न सक्छ । कारवाही सबै फिर्ता गर्नुस् मिल्न सक्छ र फागुन २८ पछाडि एकलौटी गरेका सबै निर्णय खारेज हुनुपर्ने भनेको बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सचिव गुरुङले एमालेको अर्को अध्यक्ष बनाउँदा पनि हुँदैन, जेठ २ गते फर्कंदा पनि हुँदैन र कारवाही सबै फिर्ता लिँदा पनि नभएपछि माधव नेपालले प्रचण्डसँग कस्तो सम्झौता गर्नुभएको रहेछ ? भनेर प्रश्न गर्नुभयो । उहाँले माओवादीका एक नेताले आफूलाई केपी ओलीसँग माधव नेपाल सँगै पार्टीमा बस्दैनन् भनेको बताउँदै माधवले प्रचण्डसँग एमाले फुटाउनका लागि सम्झौता गरेको खुलासा गर्नुभयो ।

तर उहाँले माओवादीको कुन नेताले त्यसो भनेको भनेर नाम भने सार्वजनिक गर्नुभएन । फुटेर गएको पार्टीले संसारमा कहीँ पनि चुनाव जितेको र सरकारको नेतृत्व गरेको उदाहरण नभएको बताउँदै एमाले सचिव गुरुङले माधव नेपाल समूहसँग कुनै तर्क पनि नभएको र पार्टी पनि चल्न नसक्ने बताउनुभयो ।

उहाँले माधव नेपाल आफूमा भएको बिना छाडेर अर्काकोमा भएको बिना खोज्दै हिँडेको आरोप लगाउनुभएको छ । माधव नेपालको पार्टीमा कुनै विचार, सिद्धान्त र नीति नभएकाले त्यो पार्टीमा जान आवश्यक नभएको भन्दै नेता कार्यकर्तालाई सचिव गुरुङले आग्रह गर्नुभयो ।
सोही भेलालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले माधव नेपाल समूहले बनाएको एकीकृत समाजवादी पार्टी दक्षिणपन्थी अवसरवाद भएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले भन्दै र गर्दै आएको बुर्जुवा समाजवादी कार्यक्रम र माधव नेपाल समूहको एकीकृत समाजवादीले अङ्गालेको समाजवादी कार्यक्रममा कुनै अन्तर नभएको बताउँदै माधव समूहको समाजवाद वैज्ञानिक समाजवाद हो कि कांग्रेसको बुर्जुवा समाजवाद हो ? भनेर प्रश्न समेत गर्नुभयो ।

नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउँदै एमाले नेता गुरुङले पार्टी फुटको असर देशमा कहिँकतै नपरेको र न्युन संख्यामा एमाले छाडेको बताउनुभयो । गलत विचार बोकेर माधव नेपाल पतनको बाटोतर्फ लागेको बताउँदै उहाँले भन्नुभयो– ‘कम्युनिष्ट बिग्रनु र आलु कुहिनु’ एउटै भएको टिप्पणी गर्नुभयो । माधव नेपाल सच्चिए ठिक छ, नभए त्यही पतनको बाटोमा जाने हो’ उहाँले भन्नुभयो ।
एमाले नेता गुरुङले नेकपा एमाले विभाजित नभई गलत मान्छे पाखा लागेको र पार्टी शुद्दीकरण भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले विभाजन भएको छैन, कहिल्यै पनि विभाजन हुन सक्दैन ।’ सिद्धान्त र विचारको ख्याल नगरी एमाले र माओवादी केन्द्रसँग पार्टी एकता गर्नु र पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्नुले पार्टी एकतामा समस्या भएको उहाँले बताउनुभयो । माओवादी स्थानीय तहको निर्वाचनमा कमजोर बनेपछि एमालेसँग मिल्न आए पनि पार्टी एकताले पूर्णता नपाएको नेता गुरुङको भनाइ छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सदस्य नवराज शर्माले एमालेमा अहिले फुटको असर देखिए पनि फेरि हरियाली आउने बताउनुभयो । एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले देउवाको पछि लागेर यो देशमा समाजवाद नआउने बताउँदै माधव नेपालले पार्टी फुटाएर गलत काम गरेको बताउनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न जिल्ला भेलामा जिल्लाको ६ वटै स्थानीय तहबाट जनप्रतिनिधिसहित नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।