माइकलको निधन


प्रसिद्ध हलिउड अभिनेता माइकल विलियम्सको ५४ वर्षको उमेरमा निधन भएको छ। अभिनेता विलियम्सलाई न्युयोर्कस्थित अपार्टमेन्टमा सोमबार मृत भेटिएको न्युयोर्क प्रहरी विभागले पुष्टि गरेको तथा उनको मृत्युको कारण भने पत्ता नलागेको सीएनएनको अनलाइन सेवाले जनाएको छ।

समाचारअनुसार न्युयोर्क प्रहरी विभागलाई स्थानीय समयअनुसार दिउँसो २ बजे उनी बस्ने अपार्टमेन्टबाट आपतकालीन फोन आएपछि प्रहरी अपार्टमेन्टमा पुगेको थियो। अपार्टमेन्टमा प्रहरीले माइकललाई मृत फेला पारेको थियो भने त्यहाँ केही लागुऔषध पनि फेला पारेको थियो। जसका कारण प्रहरीले माइकलको अत्यधिक लागुऔषधको सेवनका कारण मृत्यु भएको हुन सक्ने अनुमान लगाएको छ भने उनको मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ। माइकलले टेलिभिजन शो द वाएरबाट लोकप्रियता कमाएका थिए। उनले ट्वान्टी वान इयर्स अ स्लेभ, असेन्सिङ क्रिड, गोन बेबी गोनजस्ता हिट फिल्म दिएका थिए।