यातायात सम्पर्क विच्छेद हुँदा कालोबजारीको चिन्ता


दुर्गाप्रसाद शर्मा, पर्वत ।

अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतसहित साविकको धौलागिरि अञ्चलका चार जिल्लामा आठ दिनदेखि यातायत सम्पर्क विच्छेद भएको छ ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा चुवादेखि पातिचौरसम्मको सडकमा २० ठाउँ पहिरो झरेका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला यातायात सम्पर्कबाट विच्छेद भएका छन् । यातायात सम्पर्क विच्छेद भएपछि ४ जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

सडक बन्द हुँदा विभिन्न कामका लागि आउ–जाउ गर्नुपर्ने चार जिल्लाका नागरिकले सास्ती त पाएका छन् । यहाँका सर्वसाधारणहरु ऋावात–जावतमा ठूलो सास्ती भइरहेको छ । सवारीसाधान नचल्दा पहिरो छिचोल्दै मानिसहरु पैदल हिँड्न थालेका छन् । बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउन समस्या भइरहेको छ । गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टरमार्फत पोखरा पठाउने काम भइरहेको पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो ।

सडक बन्द हुँदा चार जिल्लामा नै दैनिक उपभोग्य वस्तुको आयात ठप्प छ । इन्धन आयातसमेत रोकिँदा बजारमा अभाव हुँदै गएको छ । फलफूल तथा चाँडबाडमा चाहिने सामग्रीको पनि बजारमा अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । बाटो बन्द हुँदा मालवाहक ट्रकहरु भित्रिन नपाउँदा चारै जिल्लामा पेट्रोलियम पदार्थ, फलफूल तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुँदै जान थालेको छ ।

तीजमा तरकारी, फलफूललगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुको अभाव हुँदै जान थालेको कुस्माका फलफूल तथा तरकारी व्यवसायी रामप्रसाद रखाल बताउनुहुन्छ । ‘२ सय ५० मा बेच्ने गरेको स्याउ ४ सयमा, ६० को बन्दा सयमा, डेढ सयको काउली २ सयमा, ७० को करेला १ सय २० मा, ६० को टमाटर १ सय २० मा बेचिएको छ’, उहाँले भन्नुभयो– ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनुपरेको छ । त्यही पनि स्थानीय उत्पादनले त एकछेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’

भीषण वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको करिब साढे ८ किलोमिटर सडक क्षत–विक्षत भएको छ । अवरुद्ध सडकमा झरेका २० भन्दा बढी पहिरो हटाउनका लागि ८ वटा एक्साभेटर प्रयोग गरेर काम भइरहेको प्रहरी प्रमुख बुढाथोकीले बताउनुभयो । चुवादेखि भ्याप्लेखोलासम्मको पहिरो हटाएर एकतर्फीरूपमा यातायात चल्न सकिने बनाइएको छ । भ्याप्लेमा खसेका ठूला ढुंगा फटाउन निरन्तर विस्फोट भइरहेको छ । बिहीबार साँझसम्म एकतर्फीरूपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको डीएसपी बुढाथोकीले बताउनुभयो ।