प्रधानसेनापतिमा शर्मा नियुक्त


नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति प्रभुराम शर्मालाई महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

सो अवसरमा उहाँले गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्न सफल हुनुभएका प्रधानसेनापति महारथी शर्मालाई पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो ।

यही भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रधानसेनापतिमा नियुक्ति गर्न गरेको सिफारिसबमोजिम नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम बिहीबार दज्र्यानी चिह्न प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेपश्चात् उहाँले कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको छ । कार्यालय बहालीपश्चात् प्रधानसेनापति शर्माले पीएसओज बैठक कक्षमा रथीवृन्दसँग भेटघाट तथा निर्देशनसमेत दिनुभएको थियो ।

बिहीबार नै नवनियुक्त प्रधानसेनापति शर्माले सैनिक मञ्च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गर्नुभएको छ भने आज शुक्रबार सकलदर्जालाई सम्बोधन गर्नुहुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

विसं २०२० पुस ९ गते काठमाडांैं जिल्लामा जन्मनुभएका प्रधानसेनापति शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । यसअघि उहाँले बलाधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रधानसेनापति शर्माको जन्म सीतापाइला, काठमाडौमा भएको हो । उहाँले नेपाली सैनिक प्रतिष्ठान, खरीपाटीबाट अधिकृत आधार तालिम पूरा गरी सहायक सेनानीको दज्र्यानी चिह्न प्राप्त गरेपश्चात् २०४० सालमा पुरानो गोरख गण (मदर युनिट) मा नियुक्ति पाउनुभएको थियो ।

शर्माले स्वदेश र विदेशस्थित प्रतिष्ठित सैनिक तालिम केन्द्रहरुबाट विभिन्न तालिम तथा सेमिनारहरु सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँले संयुक्त राज्य अमेरिकाबाट सैनिक प्रहरी एड्भान्स तालिम, नेपाली सैनिक वार कलेज नगरकोटबाट गुल्मपति तथा स्टाफ तालिम, सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीबाट कमान्ड तथा स्टाफ तालिम र भारतबाट नेसनल डिफेन्स कोर्ष पूरा गर्नुभएको छ ।

उहाँले अमेरिका, थाइल्यान्ड, बंगलदेश पाकिस्तानबाट विभिन्न उच्चस्तरीय कोर्ष पूरा गर्नुभएको छ । प्रधानसेनापति शर्माले आफ्नो ३७ वर्षे लामो सैनिक सेवाको दौरान स्वदेश र विदेशमा विभिन्न शिक्षक, कमान्ड तथा स्टाफ नियुक्तिहरुमा आफ्ना जिम्मेवारी पूरा गर्नुभएको छ । उहाँले भैरव गुल्म (अनाश्रित), पुरानो गोरख गण, नं. ३ र ६ पदिक वाहिनी तथा मध्य पृतनाको कमान्ड पूरा गर्नुभएको छ ।

महारथी शर्माले सन् २००१ मा पूर्वी टिमोरस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नारायण दल गुल्म र सन् २००४ मा कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पुरानो गोरख गणको सफलतापूर्वक कमान्ड सम्पन्न गर्नुभएको थियो ।

त्यसै गरी, उहाँले सन् २००८ देखि २०११ सम्म बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावासमा सैनिक सहचारीका रूपमा समेत जिम्मेवारी बहन गर्नुभएको थियो ।

प्रधानसेनापति शर्माले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नाकोत्तर र सन् २०१४ मा भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएको थियो ।a