पाँच वर्षपछि तीन नयाँ दमकल ल्याउँदै कामपा

अब आगलागी नियन्त्रण गर्न समस्या छैन : श्रेष्ठ


ईश्वरराज ढकाल, काठमाडौं ।

दमकल अभावका कारण आगलागी नियन्त्रण गर्न कठिन भएपछि काठमाडौं महानगरपालिकाले तीनवटा नयाँ दमकल र ५ थान पम्प खरिद गर्ने भएको छ । महानगरले ७ करोड रुपियाँमा तीन दमकल र ८० लाख रुपियाँमा ५ वटा पम्प खरिद गर्न लागेको हो ।

एउटा पम्पको १६ लाख रुपियाँ पर्ने कामपा विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार खरिद प्रक्रिया पूरा भइसकेको र आगामी ३ महिनाभित्र सबै दमकल काठमाडौं आइसक्नेछ । महानगरमा भएका ७ वटा दमकलमध्ये ४ वटा पुरानो र प्रयोगविहीन भएपछि ३ वटा नयाँ दमकल खरिद गर्न लागेको हो ।

नयाँ दमकल इन्डोनेसियाबाट ल्याउन लागेको हो । तीनवटा दमकल साना र गल्लीमा प्रयोग गर्न मिल्ने विभागले जनाएको छ । पम्प भने दमकल जान नसक्ने अवस्थामा पानी प्रयोग गरी आगलागी नियन्त्रण गर्न सकिन्छ ।

लामो समयसम्मको अध्ययनपछि महानगरको गल्लीमा प्रवेश गरी अगालागी नियन्त्रण गर्न मिल्ने दमकल खरिद गर्न लागेको जानकारी गराउँदै विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो– ‘ती दमकल ल्याएपछि राजधानीमा आगालागी नियन्त्रण गर्न समस्या पर्दैन । ल्याउने प्रक्रियामा रहेको दमकलमा आगलागी नियन्त्रण गर्न फम प्रयोग गर्न सकिन्छ ।’

कामपाले नयाँ दमकललाई महाराजगन्ज र रामघाट स्टेसनमा राख्ने तयारी गरेको छ । २ हजार लिटर क्षमताको ती दमकललाई घना बस्ती भएको कोर शहरका स्टेसनमा राखिने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सकेसम्म न्युरोडमा राख्ने छौं । आवश्यकताअनुसार अन्य स्टेसनमा समेत राख्ने गरी तयारी थाल्ने छौं ।’

महानगरले विगत ५ वर्षदेखि दमकल खरिद गर्ने प्रक्रिया थालेको थियो । लामो समयसम्मको अध्ययनपछि नयाँ दमकल र ५ वटा पम्प ल्याउन लागेको महानगरले जनाएको छ ।

पम्पले ३० मिटर अग्लो भवनमा आगलागी नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ । कामपामा भएका अधिकांश दमकल विभिन्न दातृ निकायको सहयोगमा भित्रिएको हो । कामपामा भएकामध्ये दमकलबाहेक अन्य उद्धारका सवारीसाधनसमेत कामै नलाग्ने भएको छ ।

नयाँ दमकल न्युरोड र महाराजगन्ज स्टेसनमा राख्ने तयारी छ । ‘हाल कामपाअन्तर्गत राजधानीको रामहिटीमा थप स्टेसन छ । अब न्युरोड, रामहिटी, महाराजगन्ज र कलंकीमा स्टेसन निर्माण गर्ने तयारीमा छौं ।’ –विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठको भनाइ छ ।

४ सय लिटर क्षमता भएको टोयटा कम्पनीको मिनी दमकल, ३० मिटर अग्लो ल्याडर, ल्याडर ट्रक, सडक दुर्घटनामा प्रयोग हुने हेभी रोड रेस्क्यु ट्रक र लाइट रोड रेस्क्यु ट्रक, कमान्ड जिप, हाइड्रोलिक कटर, स्प्रेडर, कम्भी टुल्सर ¥याम्मलगायतका सामग्री बिग्रिएर थन्किएको अवस्थामा छ ।

त्यस्तै, कम्प्रेसर र ५ मध्ये ३ वटा हल्का पोटेबल पम्पसमेत बिग्रिएको छ । न्युरोडस्थित दमकल कार्यालयमा रहेका ८ वटा फायर बाइकसमेत बिग्रिएको छ । त्यसै गरी, ३ थान हाइड्रोलिक जेनसेटसमेत बिग्रिएको अवस्थामा छन् । कामपासँग दमकल, ल्याडर, फायरबाइकसहित ४७ प्रकारका अग्नि नियन्त्रक सामग्री छन् ।

बिग्रिएका अग्नि नियन्त्रण गर्न प्रयोग हुने दमकललगायत सवारीसाधन र अन्य सामग्री तत्काल मर्मत गरी चालू हालतमा राख्ने काम शुरु भएको श्रेष्ठले बताउनुभयो ।