सत्ता गठबन्धनको बैठक, एमसीसी तत्काल पास नगर्ने समझदारी


नेपाल समाचारपत्र, काठमाडौं ।

सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले एमससीसी तत्काल पारित गर्ने अवस्था नरहेको निष्कर्ष रहेको छ । एमसीसी परियोजना सरकारले अगाडि बढाउन लागेको चर्चा भइरहेका बेला बसेको सत्ता गठबन्धनको बैठकले अहिलेकै परिस्थितिमा एमसीसी पास नगर्ने निष्कर्ष निकालेको हो । एमसीसीका बारेमा अहिले पनि कतिपय बुँदाहरु अस्पष्ट रहेको बताउँदै सत्ता गठबन्धनले नेपालको हितअनुसार मात्र परियोजना अगाडि बढाउन सकिने बताएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको अवस्थामा कसरी समझदारी कायम गरेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिलेको समसामयिक विषयमा गठबन्धनमा छलफल भएको बताउनुभयो । बैठकमा एमालेले संसद् अवरुद्ध पारेपछिको अगाडि बढ्ने विषय छलफल भएको बताउँदै उहाँले संसद्लाई प्रभावकारी बनाएर लैजाने विषयमा प्रतिपक्ष दलसँग समन्वय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्‍याउन सत्ता साझेदार दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्र नै मन्त्रिपरिषद्लाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठकमा सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएर छलफल भएको बताउनुभयो । उहाँका अनुसार एक÷दुई दिनभित्र नै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समझदारी भएको छ । सापकोटाले तत्काल नै एमसीसी पास हुने अवस्था रहेको बताउँदै सत्ता गठबन्धनको बीचमा एमसीसीको विषयमा खासै विवाद नरहेको बताउनुभयो ।