विद्यालयमा सतर्कता



महामारीको अवस्थामा केही कमी आएसँगै विद्यालय सञ्चालन गर्ने निर्णय लिइएको छ । लामो समयसम्म बन्द भएका विद्यालय सञ्चालन गर्दा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण हुने हो कि भन्ने डर सिर्जना हुनु स्वाभाविक छ । हुन पनि कोरोना भाइरसको संक्रमण कति समय रहन्छ भन्ने अझै पनि यकिन छैन । यस्तो अवस्थामा विद्यालयहरू कति समयसम्म बन्द गर्ने भन्ने सम्बन्धमा पनि निश्चित गर्न सकिन्न । यस्तै दुविधाका बीच अब विद्यालयहरू सञ्चालनमा आउने भएका छन् ।

लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यार्थीमा एक प्रकारले नैरास्यता पनि उत्पन्न हुनसक्छ । उनीहरूलाई एक्कासी विद्यालय जानुपर्दा केही असजिलो पनि लाग्न सक्ला । कोरोना भाइरसको संक्रमण हुने हो कि भन्ने डर र त्रास पनि आउन सक्ला । कोरोना भाइरसको तेस्रो भेरियन्ट आएको भनी एकातिर हल्ला भइरहेको अवस्थामा विद्यालयहरू खोलिन लागिएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोप पनि पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । यस्तो भाइरसले बालबालिकालाई पनि संक्रमण गराएको भन्ने पनि सुनिने गरेको छ । उमेर पुगेकाले भन्दा बालबालिकाले कम मात्रामा खोप लगाएको अवस्था छ । यस्तो अवस्थामा बालबालिकालाई कोरोना भाइरसले बढी मात्रामा आक्रमण गर्नसक्छ कि भन्ने आशंका पनि नभएको होइन । सरकारले धेरै प्रकारका खोपहरू भित्र्याएको भए पनि अधिकांश बालबालिकाले यसको प्रयोग गर्न पाएका छैनन् । हुन त बढी विद्यार्थी भएका विद्यालयमा दुई सिफ्ट वा बारअनुसार आलोपालो गरेर कक्षा सञ्चालन गर्ने तयारी पनि भएको बताइएको छ । यसै गरी जोर बार जोर कक्षा र बिजोर बार बिजोर अंक भएको कक्षा सञ्चालन हुने पनि व्यवस्था गरिएको छ । त्यस्तै, साना विद्यार्थीलाई दिउँसो र ठूला विद्यार्थीलाई बिहान पढाइ गर्न सकिने पनि सम्बन्धित पक्षबाट उल्लेख गरिएको छ । कोरोना भाइरसबाट केही मात्रामा भए पनि बच्न सकिने यस्ता उपायहरूलाई ठिकै मान्नुपर्छ । एक हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयहरूले आगामी दशैंपछि मात्र विद्यालय खोल्ने जनाएका छन् । बढी जनघनत्वलाई ख्याल गरी गरिएको यो निर्णय विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी गरिएको मान्नुपर्दछ । काठमाडौं उपत्यकामा झण्डै एक हजार २ सय निजी र करिब ३ सयको हाराहारीमा सामुदायिक विद्यालय रहेको आँकडाबाट देखिन्छ । अन्यत्र पनि जहाँ विद्यार्थीको घनत्व बढी छ त्यहाँ बढी सतर्कता आवश्यक हुन्छ ।

जेहोस्, अब विद्यालयहरू बिस्तारै खोल्ने निर्णय भएको छ । यस निर्णयबाट बालबालिकाको स्वास्थ्य स्थितिमा असर नपर्ने कामना गर्नु र सोहीअनुसार विद्यालय तथा सम्बन्धित अन्य निकायहरू तयार हुनु आवश्यक छ । हरेक विद्यालयमा स्यानिटाइज, मास्कलगायतका सामग्रीहरूको व्यवस्था हुनुपर्छ । उनीहरूलाई सामाजिक दूरीको बारेमा स्पष्ट बताई त्यसको पालना गर्न अभिप्रेरित गर्नुपर्छ । स्यानिटराइज र मास्कको प्रयोग उचित रूपमा भएको छ कि छैन भन्ने बारेमा निगरानी गर्नु–गराउनुपर्छ । यदि छैन भने त्यसको उपयोगिताको बारेमा सिकाई प्रयोग गराउनुपर्छ । समष्टिमा भन्नुपर्दा बालबालिकाहरू विद्यालय गएको बेला कोरोना भाइरसको संक्रमण नहोस् भनी सम्बन्धित सबै पक्षले ख्याल गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्