गाडी बाढीले बगाएपछि ठेकेदारलाई पक्राउ पुर्जी


काठमाडौं, (नेस)  ।

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्य तथा एडभेन्चर/जेभीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप गरी पुर्जी जारी गरेको महासंघको दाबी छ ।

सार्वजनिक खरिद ऐन/नियम र प्रचलित करार कानुन एवम् करार सम्झौता बमोजिम सार्वजनिक निकायबाट कारबाही गर्नुपर्ने भएमा सोही निकायबाट कारवाही हुनुपर्नेमा जिल्ला प्रशासन कार्यालय दाङले अधिकार क्षेत्रभन्दा बाहिर गई खत्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको महासंघको भनाइ छ । जिल्ला प्रशासन कार्यालय दाङको यस कदमले संविधान प्रदत्त नागरिकको मौलिक एवं मानव अधिकारको प्रत्यक्ष हनन् भएको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ १६ गते राति निर्माणस्थल भएको खोलामा बाढी आएको अवस्थामा साइडमा रोकी रहेका गाडी चालक तथा प्रत्यक्षदर्शीले ‘खोला ठूलो छ गाडी नहाल’ भन्दा भन्दै जबरजस्ती गाडी खोलाबाट पार गराउन खोज्दा खोलाले बगाई भएको मानवीय क्षति निज यज्ञबहादुर खत्रीसँग सम्बन्धित र सरोकार नै नभएको महासंघको भनाइ छ । यस विषयमा निजलाई समेत जोडी उनको मान प्रतिष्ठा र इज्जतमा आँच पुर्‍याउने र काबु बाहिरको प्राकृतिक प्रकोपको कारण भएको घटनालाई निजसंँग जोडी पक्राउ पुर्जी जारी गर्ने काम निन्दनीय भएको महासंघको ठहर छ ।