अब हतियार कसको विरुद्ध उठाउने कमरेड ?

2.63k
Shares

  • केशव अधिकारी

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिँदै अब फेरि माओवादीले हतियार उठाउन बाध्य भएको कुराको उद्घोष गरेका छन् । उक्त कुराको उद्घोष गर्दै उनले आफ्ना सम्पूर्ण कार्यकर्तालाई हतियार उठाउन पनि तयार रहन निर्देश गरेका छन् । यो उद्घोष उनले कि त वर्तमान सरकारका प्रम शेरबहादुर देउवालाई सुनाएर थर्काउन र आफ्नो निर्देशअनुसारका काम गराउन बाध्य बनाउनलाई अभिव्यक्त गरेको हुन्, कि त साँच्चै अहिलेको राजनीतिक वातावरणले कमरेड प्रचण्डलाई हतियार उठाउन बाध्य बनाएको जस्तो लागेर हो । यी दुईभन्दा अन्य विकल्प खासै देखिँदैनन् ।

केपी शर्मा ओली प्रमको कुर्सीमा विराजमान रहेका बेला पनि यस्ता उद्घोष आउने गरेका बेला–बेलामा सुनिन्थे । हुन पनि आमजनताको सोचाइ र केपी ओलीले सत्ता सम्हालेपछिको करिब ३ वर्ष ६ महिनाको समय त्यति उत्साहप्रद बन्न नसकेका कारण अलि क्रान्तिकारी विचार बोकेका युवाको मानसपटलमा यस्तो विचार आउन सक्नु स्वाभाविकै हुन्थ्यो । दशबर्से युद्ध हाँकेर आएका प्रचण्डलाई पनि यो निराश लाग्दो र अत्यास लाग्दो वातावरणले फेरि हतियार उठाउन अभिप्रेरित गरेको हुनसक्छ । यदि उनले प्रम शेरबहादुर देउवालाई थर्काउन आफ्नो अनुकूल बनाउनकै लागि यो अभिव्यक्ति दिएका भए केवल छिमेकीलाई कम्फरटेबल हुने खालको शासन व्यवस्था कायम गराउनको लागि आएको अभिव्यक्ति भनेर जान्नु आवश्यक हुन्छ ।

प्रचण्डको मानसपटलमा हालको वातावरणले नै त्यस्तो तरङ्ग ल्याएको आफ्ना कार्यकर्तालाई यथार्थरुपमै सचेत गराएका हुन् भने अबको हतियार उठाइ भनेको कसको विरुद्धमा हो त भनेर प्रश्न सोध्नुपर्ने हुन्छ । नेपाली काङ्गे्रसले राणा शासनको विरुद्धमा हतियार उठाएको कुरा इतिहासले देखाउँछ । काङ्गे्रसको यसै आन्दोलन र आक्रमणले राणा शासन धराशायी बन्न पुग्यो । कमरेड प्रचण्डहरुले नै माओवादी बनेर हतियार उठाई एक दशक लामो समय भिड्दा राजतन्त्रको अवसान भयो । तर अबको हतियार उठाइ आखिर केका लागि वा कसका विरुद्धमा होला त ? हाल त सत्ताको बागडोर पनि एउटा प्रजातान्त्रिक दलका नेताले कमरेड प्रचण्डकै राजनीतिक दलका सदस्यहरुलाई समेत सामेल गराएर सम्हाल्दै छन् । उनलाई प्रधानमन्त्री बनाउने ढोका खोल्नको लागि कमरेड प्रचण्डको पनि साथ–सहयोग रहेको थियो भन्ने देखिन्छ ।

एमालेतिर हेर्दा विगतको चुनावमा एमालेसँगै हात र साथ मिलाएर चुनाव लड्दा एमालेले स्पष्ट बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गरेकै थियो । तर त्यस सरकारले छिमेकीलाई कम्फरटेबल हुने खालको शासन शैली अपनाउन नसकेका कारण कमरेड प्रचण्ड र ओलीका बीचमा वैमनस्यता बढ्दै जाँदा ओलीलाई सत्ताको कुर्सीबाट लडाउन पनि प्रचण्डको सक्रिय भूमिका निभेकै थियो । ओलीलाई कुर्सीबाट लछारेर शेरबहादुर देउवालाई कुर्सीमा चढाउन पनि सक्दो बल प्रयोग गरेकै हो । सत्तारोहणपछि देउवाले प्रचण्डले लगाएको गुनको बदलामा प्रचण्डको हेरचाह गर्ने र सुरक्षा गर्ने ओलीले घटाएभन्दा पनि अधिक सुरक्षा कर्मी नियुक्त गरेर प्रचण्डलाई रिझाउन सकेसम्म खोजेकै थिए । पछि रात रहे अग्राख पलाऊला र प्रचण्डले नसघाऊलान् कि भन्ने भयले देउवाले सरकार गठन गरेको एक महिनाभरमा लिनुपर्ने र अरु सबैजसो प्रमले प्रम बनेको महिना दिन पुग्न लाग्दै गरेका दिनतिर विश्वासको मत लिने चलन नै चलाएका भए पनि देउवाले सरकार गठन गरेको एक हप्ता पनि नबिती विश्वासको मत लिएर आफूलाई दह्रो बनाउँदै लगेका थिए ।

विगतको दबर्से जनयुद्धकालमा सत्ताको कुर्सीमा नै विराजमान हुन पुगेका र कमरेड प्रचण्डको टाउको काटेर ल्याउनेलाई ५० लाख रुपियाँ पुरस्कार दिनेछ भनेर घोषणा गर्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई कमरेड प्रचण्डको हालको त्यो सामीप्यता अलि नरुचेको हुनसक्छ । आफू पाँचौँपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई जाबो प्रचण्डले सिकाउने ? भन्ने अहंताका भावहरु मनभित्र सल्बलाउन सकेका हुन सक्छन् । यी भावले गर्दा देउवाले प्रचण्डले अराएका काम नगरेर वा तिनका विरुद्धमा गएर रिझाउन छोडेका हुन सक्छन् । देउवाका यी कृतघ्न व्यवहारले गर्दा उनलाई तर्साउने हेतुले अब फेरि अरु कसैको विरुद्धमा नभएर देउवाको विरुद्धमा हतियार उठाउने कुराको उद्घोष गरेका हुन सक्छन् ।

यदि प्रचण्डको हतियार उठाउने बाध्यताको कारण यही हो भने ती बबुरा गठबन्धनको तारमा टेकेर प्रम बनेका देउवालाई तह लगाउनको लागि हतियार किन उठाउनुपर्ला र ? प्रचण्डजतिका राजनीतिका चतुर खेलाडीले माधव नेपाल र केपी ओलीलाई हात लिएर देउवालाई एक्लो बनाउने हो भने देउवाको शासन तासको घरसरह भत्केर गैजान्छ । कमरेड प्रचण्डले कतै दशबर्से युद्धका ती दिनहरु सम्झेर, ती दिनमा उनीहरुले देखाएका र गरेका हत्या–हिंसाका घटनाका भयले त्रस्त भएर दिइएका वा पाउने गरेका आदर तथा सम्मानमा कमी आएको अनि ती कुरालाई फेरि ठेगानमा ल्याउनको लागि हतियार उठाउने कुराको उद्घोष भएको हो कि ? यदि यसो हो भने मुक्ति अधिकारीजस्ता निर्दोष शिक्षक र अन्य क्षेत्रका निम्न स्तरका जनता, जो माओवादीलाई मन नपराउने मात्र होइन कि उनीहरुले गरेका कुकर्मलाई उदाङ्गो पारेर देखाउनसमेत पछि पर्दैनथे ती निहत्थाको विरुद्धमा हतियार उठाउने भन्ने मनसायले आएको उद्घोष हुनसक्छ ।

कुनै पनि विषयमा एक पाटोबाट मात्र हेरिनु पूर्वाग्रह हुनसक्छ । कुनै पनि वस्तुको वा विषयको नकारात्मकसँगै सकारात्मक पाटो पनि रहेको हुन्छ । यहाँ माओवादी अध्यक्ष्य प्रचण्डले फेरि हतियार उठाउने उद्घोष गरेर आफ्ना कार्यकर्तालाई हतियार उठाउने काममा तयार रहनको लागि किन निर्देश गर्नुभयो ? हतियार कसका विरुद्धमा उठाउनको लागि निर्देश गर्नुभएको होला भन्ने विषयका केही तर्कहरु प्रस्तुत गरिए । तर प्रस्तुत गरिएका यी सबै तर्कहरु नकारात्मक तर्कजस्ता लाग्न सक्छन् । माओवादीले पुनः हतियार उठाउनुपर्ने बाध्यताका लागि अर्को तर्क यो पनि हुनसक्छ, दश वर्षसम्म युद्धको मैदानमा लडेर आएको माओवादीका अध्यक्ष्य कमरेड प्रचण्ड नै नेपालको इतिहासमा विभिन्न कालखण्डमा दुईपटक प्रधानमन्त्री बन्नुभयो । पहिलोपटक प्रधानमन्त्री बन्दा उहाँ महँगो पलङको विवादमा पर्दै गएर प्रहरी अधिकृतको सरुवा–बढुवाको विवादमा पनि तानिनुभयो । दोस्रोपटक प्रम बन्दाको सुरमै उहाँले पहिलोपटक प्रम बन्दा अनजानवश धेरै गलत काम गरियो होला तर अबका दिनमा तिनलाई सच्याएर लैजान्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तो प्रतिबद्धता प्रकट गरे पनि उहाँले कार्यव्यवहारमा उतार्न भने सफल बन्नुभएन ।

दशबर्से युद्धलाई एउटा निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निभाउने शीर्ष नेता नै शासन सत्ताको कुर्सीमा बसेर विविध असफल प्रयासमा लाग्न थाल्नाले आमजनताको माओवादीप्रतिको ममता र विश्वास क्रमशः स्खलित हुँदै जान थालेको थियो । माओवादीकै कोही वरिष्ठ ठानिएका र उच्च आसनमा विराजमान नेताहरु यौनकाण्डमा समेत फस्न पुगे । यसरी युद्धको पृष्ठभूमिबाट उठेर आएको माओवादी क्रमशः व्यावहारिक र नैतिकरुपमा स्खलित बन्दै जान थालेपछि आमजनताको भरोसाको सिँढी पनि भत्कन थालेको थियो । पछि एमालेसँग पार्टी एकता गरी मिलेर चुनावमा जाँदा एमाले र माओवादीको स्पष्ट बहुमत आएर सत्ता सम्हाल्ने मौका पनि पायो एमालेले । एमालेका अध्यक्ष केपी ओली सत्ताको कुर्सीमा बसेर चलाए पनि दुवै अध्यक्षका बीचमा खटपटी बढेका कारण ओलीलाई सत्ताबाट तल झारेर शेरबहादुरलाई उक्त कुर्सीमा विराजमान गराई गुमेको आफ्नो छवि सुधारका केही काम गर्न सकिन्छ कि भन्ने सकारात्मक सोचाइ कमरेड प्रचण्डको मानसपटलमा आएको हुनसक्छ । शेरबहादुर देउवाले पनि उनको मानसिकताले देखेजस्तो विगतमा गुमेको छवि सुधार्ने काममा दिलचस्पी दिन सकेको अवस्था रहेन ।

यो विषम राजनीतिक अवस्थाले र कोरोनाको कहरले दुवैतिरबाट च्यापिएर चित्कार गरिरहेका नेपाली जनता र नेपाल देशको उन्नतिका खातिर केही गर्न नसकेका कारण अबका दिनमा हतियार उठाएरै भए पनि परिवर्तन ल्याउने र आमनेपाली जनतालाई साँचो अर्थको लोकतन्त्रको फल चखाउने भन्ने पवित्र उद्देश्यले हतियार उठाउने कुराको उद्घोष भएको पनि हुनसक्छ । यदि यसो हो भने र विगतमा जस्तै आमनेपालीलाई धोका दिने काम नगर्ने भनेर बाचा–कसमका साथ लाग्ने हो भने उहाँको उक्त अभिव्यक्तिलाई सबैले शुद्ध आत्माले स्वागत गर्नै पर्छ । तर यसका लागि नातावाद, कृपावाद, परिवारवाद, माओवादी राजनीतिक दल आदिभन्दा धेरै माथि उठेर आमनेपाली जनताको भरोसाको केन्द्र बन्नुपर्ने हुन्छ ।

कमरेड प्रचण्डले दुई–दुईपटक सत्तारोहण गर्दा होस् कि बाबुराम भट्टराईले सत्तारोहण गरेको कालखण्डमा होस्, त्यस बेला सत्तामा रहेका मन्त्री, सचिव, उच्च ओहोदाका कर्मचारी अथवा जोसुकैले भ्रष्टाचार गरेको भेट्टाएपछि तिनलाई पनि निर्दोष मुक्तिनाथलाई जस्तै सफायाको सजाय दिन सकेर आफूहरुले पनि कडा आर्थिक अनुशासनलाई आत्मसात् गर्न सकेको भए हाम्रो देशको सबैजसो क्षेत्रको हालत निकै समुन्नत अवस्थामा पुगिसकेको हुने थियो । तर अगुवा नै बाटो …. भएपछि नहुनुपर्ने जे थियो अथवा जे कुरा नहोस् भनिएको थियो, त्यही भैदियो र हुँदै छ । आखिर कमरेड प्रचण्डलाई सोध्न मन लाग्छ, अब हतियार कसका विरुद्धमा वा कसका लागि र किन उठाउनुहुन्छ त कमरेड ?