काभ्रेमा १६ प्रतिशत जनप्रतिनिधिले एमाले छाडे, आफ्नै पालिकामा मेयर वाईवाको दल तेस्रो

28.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिले पार्टी परित्याग गरी नयाँ पार्टीमा सनाखत गरेका छन् । सनाखत गर्नेमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ सहित ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्य रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ५६ जना जनप्रतिनिधिले भदौ २२ गते साँझसम्म पार्टी परित्यागको सनाखत गरेका हुन् । एमालेले जिल्लाभर ३ सय ४४ सिटमा विजयी हासिल गरेको थियो । १ सय ३५ वडामा नेपाली काँग्रेसले २ सय २१ र माओवादी केन्द्रले १ सय २१ सिटमा विजयी हासिल गरेको थियो । अन्य तर्फ ८ जना विजयी भएको थियो ।

जिल्लाको पहिलो र ठुलो दल नेकपा एमालेले १३ मध्ये ७ वटा पालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखमा विजयी हासिल गरेको थियो । अझै नेकपा एमालेसँग १३ जना प्रमुख उपप्रमुख छन् भने २ सय ८८ जना जनप्रतिनिधि बाँकी छन् ।

नयाँ पार्टीका अध्यक्ष समेत रहेका मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा मण्डन देउपुर नगरपालिकामा तेश्रो दल बनेका छन् । पहिलो दल नेकपा एमालेले ४३ सिटमा विजयी गरेकोमा १५ जना नयाँ पार्टीमा प्रवेश गरेका छन् । पुर्व मन्त्री गोकुल बास्कोटाको वडाका वडा अध्यक्ष भुवनप्रसाद बजगाईले पार्टी परित्याग गरेनन् । नगर प्रमुख टोकबहादुर वाईवाको नयाँ पार्टीमा १५ जना जनप्रतिनिधि रहेका छन् ।

जसमा नगर प्रमुख एक, वडा अध्यक्ष ५ र ९ जना वडा सदस्य रहेका छन् । दोश्रो पार्टी नेपाली काँग्रेस बनेको छ । जसका १७ जना जनप्रतिनिधि रहेका छन् । तेश्रो पार्टी बनेको नगर प्रमुखलाई जिल्लाभरबाट सोचेजस्तो जनप्रतिनधिहरु सनाखत गर्न नआए पछि नयाँ पार्टी प्रतिको आर्कषण छैन भन्ने पुष्टी गराएको हो ।

केहि दिन अघि पुर्व मन्त्री बास्कोटाकै वडाबाट सबै जनप्रतिनिधि नयाँ पार्टीमा जाने हल्ला फैलाएका नगर प्रमुख वाईवा अन्तिम समयमा बजगाई सनाखत गर्न नआए पछि हिस्स परेका थिए । एमाले परित्याग गर्नेमा मण्डन देउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने छन् ।

पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी, पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ रहेका छन् ।

सुर्य चिन्हबाट निर्वाचित भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठसँग नेकपा एमालेको संगठित सदस्य नै थिएन । विदुर सापकोटाले कल्पना श्रेष्ठलाई जर्बजस्ति संगठित सदस्य विना नै भुम्लु गाउँपालिकाको उपाध्यक्ष पदको टिकट दिएका थिए । धुलिखेल, खानीखोला, रोशी, धुलिखेल, बेथान्चोक जस्ता पालिकाहरुमा नयाँ पार्टीका जनप्रतिनिधि शुन्य भएका छन् ।