सडक मानवलाई सेवा घरमा कोरोनाविरुद्धको खोप

1.4k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

सडकलाई आफ्नो सम्झी विभिन्न कारण सडकमा पुगेका पहिचान नखुलेका ब्यक्तिहरुको उद्धार गरी सेवा गरिरहेको मानव कल्याण समाज (सेवा घर) धुलिखेलमा रहेका सडक मानवहरुलाई स्वास्थ्य कार्यालय काभ्रे मार्फत धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले कोभिड १९ विरुद्धको खोप लगाएको छ ।

बुबाको मुख हेर्ने दिनको अवसरमा सेवा घरमा रहेका १८ वर्ष माथीका ब्यक्तिहरुलाई खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

‘धुलिखेल नगरपालिका ९७ प्रतिशत खोप लगाईसकेको नगरपालिका हो, मानव कल्याण समाजको सेवा घरमा रहनु भएका सडक मानवहरुको उद्धार पटक पटक भईरहेकाले एकै पटक बुबाको मुख हेर्ने दिनको अवसर पारी खोप सेवा उपलब्ध गराएका हौं’–स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भन्नुभयो–‘खोपका अलावा सेवा घरलाई आवश्यक पर्ने स्वास्थ्यजन्य सामाग्री उपलब्ध गराईएको छ । आवश्यक स्वास्थ्य परामर्शका लागि पनि नगरपालिकाले सहयोग पु-याईरहेको छ ।’

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जेष्ठ नागरिकहरु प्राथमिकतामा परेको भए पनि मानव कल्याण समाजमा रहेका सडकबाट उद्धार गरेका नागरिकहरुको स्वास्थ्य अवस्था हेरेर मात्रै खोप उपलब्ध गराउनु पर्ने भएकाले बुबाको मुख हेर्ने दिन पारी खोप सेवा उपलब्ध गराएको बताउनु भयो ।

‘सडकमा रहेका मानवहरुको उद्धार गरी सेवा दिनु महान कार्य हो’–डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘महानकार्यमा स्वास्थ्य कार्यालय काभ्रे मार्फत आवश्यक पर्ने स्वास्थ्यजन्य सहयोग उपलब्ध हुनेछ ।’ डा. नरेन्द्रकुमार झाले बुबाको मुख हेर्ने दिनको अवसर पारी आमाको पुण्य तिथीलाई स्मरण गर्दै नगद ५ हजार ५ सय ५५ रुपैया नगद सहयोग गर्नु भएको थियो ।

सोहि कार्यक्रममा वडा अध्यक्ष रविन्द्रकुमार कर्माचार्यले ब्यक्ति भएर जन्मे पछि सडकमा पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न घरघरनै सचेतना आवश्यक रहेको बताउनु भयो । सडकमा पुगेको ब्यक्तिको उद्धार गरी सेवा गर्ने मानव कल्याण समाजको महान कार्यलाई सदैव सहयोग रहने वडा अध्यक्ष कर्माचार्यले बताउनु भयो ।

नगर प्रमुख पनि सेवा घरमा

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले कुशे औशी अथार्त बुबाको मुख हेर्ने दिनको अवसर पारी असहाय वृद्धवृद्धालाई सम्मान गर्दै बाबुको मुख हेर्ने दिन मनाएका छन् ।

बाबुको मुख हेर्ने दिनको अवसर पारी नगर प्रमुख तिमल्सिना फलफूल मिठाई तथा स्वास्थ्य सामग्री बोकेर मानव कल्याण समाजले काभ्रेको धुलिखेलमा स्थापना गरेको सेवा घर पुगेका थिए ।नगर प्रमुख तिमल्सिनाले सेवा घरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल, मिठाई तथा स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै उनीहरुलाई सम्मानसमेत गरेका थिए ।

‘विगतमा पनि सेवा घरमा रहनुभएका बालबालिकासहित जेष्ठ नागरिकहरुको सेवामा लागेको थिएँ र आगामी दिनमा पनि लागिरहनेछु’ नगर प्रमुख तिमल्सिनाले भने, ‘चाडपर्वको समयमा पनि सेवा घरमा आश्रित जेष्ठ नागरिकहरुलाई आफ्नो कोही पनि नभएको महसुस नहोस् भन्ने उद्देश्यले आज आइपु्गेको हुँ ।’ नगर प्रमुख तिमल्सिनाले यसअघि नै सेवा घरमा आश्रित एक बालिकाको अभिभावकत्व ग्रहण गरिसकेका छन् ।