टेलिकमले फाइभ जीको परीक्षण गर्ने तयारी गर्दै


काठमाडौं, (नेस) ।

नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिनुभएको हो ।

उहाँले टेलिकमको व्यवसाय नाफामुखी नभएर सेवामुखी रहेको उल्लेख गर्दै कोभिडको महामारीका बेला अत्यान्तै न्यून दरमा सेवा उपलब्ध गराएर एन्टरको पहुँच नभएको विद्यार्थी तथा शिक्षकमार्फत् शैक्षिक गतिविधि सुचारु राख्न मद्दत पुर्‍याएको बताउनुभयो । टेलिकमकै कारण प्रतिस्पर्धी कम्पनीहरूले महशुलमा घटाएका कारण प्रयोगकर्ताले सस्तोमा दूरसञ्चार र इन्टरनेटको सेवा प्रयोग गर्ने सम्भव भएको उल्लेख गर्दै टेलिकमले ग्राहकको गुनासो सम्बोधन गर्न प्रतिबद्ध रहेको अधिकारीको भनाइ छ । काठमाडौं उपत्यकामै कयौं स्थानका घरधनीले टावर राख्न नदिएका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको भन्दै उहाँले सकभर सेवाको गुणस्तर बढाउन टेलिकम प्रयत्नशील रहेको जनाउनुभयो ।

चालू आर्थिक वर्षमा नेपाल टेलिकमले फाइभ जीको परीक्षण गर्ने बाहेक व्यावसायिक सेवा सञ्चालनको तयारी गर्ने, स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइबरमा रुपान्तरण गर्ने, मोबाइल फाइन्सान्स सर्भिस सञ्चालनमा ल्याउनेलगायतका लक्ष्यहरू राखेको छ । त्यस्तै सबै स्थानीय तहमा डिजिटल एजुकेसन, टेलि मेडिसिन र ई–गर्भनेन्सलाई सहयोग पुग्ने गरी पूर्वाधारको विकास गर्ने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि देशव्यापीरूपमा ब्रोडब्यानड इन्टरनेट उपलब्ध गराउन पूर्वाधारको विकास गर्नेलगायतका नीति अगाडि सारेको छ । टेलिकमअन्तर्गत टेलिफोनको घनत्व ७० दशमलव ४० प्रतिशत पुगेको छ । त्यस्तै इन्टरनेट ६८ दशमलव २६ प्रतिशत, मोबाइल ग्राह २ करोडभन्दा माथि रहेको जनएको छ ।