नेपाल-युरोपियन युनियन फिल्म महोत्सव हुँदै


नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म महोत्सव २०२१ (नियुफ २०२१) भर्चुअल स्ट्रिमिङ प्लाटफर्म फेस्टिभल स्कोपमार्फत गर्ने भएको छ। महोत्सवको यो दशौं संस्करणमा नेपाली दर्शकका लागि आगामी असोज १ देखि ९ सम्मको अवधिभरि विभिन्न पुरस्कार जित्न सफल १५ फिल्म तथा अन्य २४ फिल्म प्रदर्शन गरिनेछन्।

‘महामारीबाट सिर्जित कठिनाइका कारण सांस्कृतिक गतिविधिहरूलाई ठप्प पारेको अवस्था छ। यस्तो स्थितिमा पनि हामी नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदान-प्रदान तथा फ्युजनको प्रवद्र्धन केही उत्कृष्ट नेपाली तथा युरोपेली फिल्मको अनलाइन प्रदर्शनीबाट गरिरहेका छौं’ आइतबार आयोजित भर्चुअल कार्यक्रममा नेपालका लागि युरोपियन युनियनको डेलिगेसनको कार्यवाहक राजदूत स्टेफेन माइकनले भने। महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समावेश छन्। यीमध्ये दुई फिल्ममा नेपाली भाषामा सबटाइटल राखिएका छन्। महोत्वसमा पुरस्कार जित्न सफल तीन नेपाली फिल्म पनि समावेश छन्। विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खान्डो र सर्जियो बास्सो निर्देशित सरितालाई समावेश गरिएको छ। त्यस्तै, कृषि फिल्म विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय फिल्म आई क्यान नट् गिभ यू माई फरेस्ट पनि प्रदर्शन गरिँदै छ।

गणेश पाण्डे निर्देशित को–हसबेन्ड्स र राजन कठेत निर्देशित स्प्लिट एन्डस् नामका दुई छोटा फिल्म पनि महोत्सवमा छन्। रादु कोर्निसिसुको वल्र्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन तथा सन डान्डस् फिल्म फेस्टिभलमा पहिलोपटक प्रदर्शन गरिएको अकासा माई होम नामक वृत्तचित्रले घर, परिवार तथा खुसीबारेको धारणालाई चुनौती दिन्छ। उक्त वृत्तचित्रमा राखिएका नेपाली भाषाको सबटाइटलले वृत्तचित्रलाई नेपाली दर्शकका लागि बढी रुचिकर तथा ग्राह्य बनाउनेछ भन्ने आशा गरिएको छ।

अर्को युरोपेली फिल्म हर जबमा पनि नेपाली भाषाको सबटाइटल राखिएको छ। यस वर्षको नियुफ्को अर्को आकर्षण भनेको महोत्सवमा २३ वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्म पनि समावेश गरिनु हो। फायरफक्स् गार्डियन शीर्षक भएको एउटा अर्को छोटो वृत्तचित्रले पूर्वी नेपालकी एक स्थानीय महिला संरक्षणवादीको कथा भन्छ, जसले उनी संकटापन्न जीवको सूचीमा रहेको हाब्रे (रातो पान्डा)को संरक्षणका लागि पहलहरू बढाउनुपर्ने आवश्यकताको बारेमा कसरी जनचेतना बढाइरहेकी छिन् भन्ने देखाउँछ। अन्य वातावरणीय फिल्महरू युरोप तथा भारतको पृष्ठभूमिमा निर्माण गरिएका छन्। महोत्सवमा प्रदर्शित गरिने फिल्मका अलावा फिल्म निर्माणका विविध पक्षको बारेमा पनि तीन कार्यक्रम आयोजना गरिनेछ। यसअन्तर्गत पहिलो कार्यक्रम असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली फिल्म निर्माणको कलात्मक तथा वित्तीय पक्षबारे अन्तक्र्रियात्मक कार्यक्रम गरिने छ। कार्यक्रममा नेपाल तथा युरोपका प्रख्यात फिल्मकर्मी सहभागी हुनेछन्।

त्यस्तै, असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम हुनेछ। नेपाल तथा युरोपका प्रख्यात फिल्म निर्देशक तथा महोत्सव आयोजक सहभागी हुने उक्त कार्यक्रममा फिल्म निर्माणका विभिन्न पाटा तथा हालको समयमा फिल्म उद्योगमा महिलाको अवस्थाबारे छलफल गरिनेछ।

तेस्रो कार्यक्रम आठ गते हरित फिल्म निर्माण विषयमा अन्तक्र्रिया गरिनेछ, जसलाई डा. एलबर्टो बाट्टोचीले सहजीकरण गर्नेछन्।