‘जलवायु परिवर्तनको असर सामना गर्न कठिन’


नेपाल समाचारपत्र, ललितपुर ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनुभएको छ । औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।

निजामती कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी पार्कमा सोमबार वृक्षरोपण गरेपछि मन्त्री भुसालले भन्नुभयो– ‘विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।’

औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्यासित विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो– ‘देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।’

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जलधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकाबासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो– ‘भूक्षयपछि आएको बाढी र त्यसले पुर्‍याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री व्यहोर्नुपरेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्‍याएको छ ।’

आफूले मतदान गर्ने महानगरको वडा नं २ मा वृक्षरोपण गर्न पाउँदा खुशी लागेको बताउँदै उहाँले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वृक्षरोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षारोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षरोपण गरिएका वृक्षको उचित संरक्षण हुने विश्वास व्यक्त गर्दै वातावरणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसै गरी सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षरोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षहरूको संरक्षणमा गर्ने विश्वास दिलाउनुभयो । त्यस अवसरमा इन्द्रायणी पार्कमा चार दर्जन बढी विभिन्न जातका वृक्ष रोपिएका छन् ।