नारायणहिटी दरबार संग्रहालयमा राज्यभिषेक बग्गी


ईश्वरराज ढकाल, काठमाडौं ।

नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्र शाहले २०३१ सालमा शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको सुनौलो बग्गी हेर्न पाउने भएका छन् । संग्रहालय प्रशासनले हिजो सोमबार नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी सर्वसाधारणको अवलोकनका लागि संग्रहालयमा राखेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति तथा अन्य ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको बताउनुभयो ।

उक्त बग्गी बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको हो । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी पनि राखिएको बताउनुभयो । उहाँले शाहकालीन राजपरिवारले प्रयोग गरेको अन्य सामग्री चरणबद्धरूपमा प्रदर्शनी राखिने जानकारी पनि दिनुभयो । विसं २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

नारायणहिटी दरबार हत्याकाण्डमा निधन भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन यसअघि नै प्रदर्शनीमा राखिसकेको छ ।

संग्रहालय विकास समितिले स्वर्गीय रानी ऐश्वर्याको शृंगारकक्ष नजिकै स्वर्गीय राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजा र उहाँका परिवारका फोटो समेटेर फोटोग्राफीकक्ष राख्ने तयारी गरेको छ । ‘नारायणहिटी दरबारमा रहेका सबै फोटो खोजी गरिसकेका छौं, विभिन्न क्षेत्रबाट खोजी गरेर संकलित फोटो फोटोग्राफी कक्षमा राख्नेछौं ।’ –संग्रहालय प्रमुख दाहालको भन्नुभयो ।

त्यस्तै, राजा वीरेन्द्रको परिवारको डकुमेन्ट्री तयार गर्ने र ती सामग्री दरबारको हल खुलेलगत्तै देखाउने गरी तयारी गरिएको पनि संग्रहालयले बताएको छ । यसका लागि नारायणहिटी दरबारभित्र रहेको हल मर्मत गरिसकेको छ भने डकुमेन्ट्री तयार गर्न टुके मेसिन र सर्भर खरिद गरिसकिएको छ । ती मेसिन जडान भएलगत्तै शाहकालीन राजा र उहाँको परिवारको डकुकेन्ट्री देखाइने बताइएको छ ।

त्यस्तै, राजा त्रिभुवन र महेन्द्र प्रयोग गर्ने पुरानो सवारीसाधन मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको संग्रहालयले जनाएको छ । सबै सवारीसाधन पुरानो भइसकेकाले सकेसम्म चल्न सक्ने गरी मर्मत गरेर प्रदर्शनीमा राख्ने तयारी भइरहेको दाहालले बताउनुभयो ।

लकडाउनका कारण करिब ६ महिनादेखि बन्द संग्रहालय खुलेलगत्तै अवलोकनमा आउने दर्शकलाई नयाँ–नयाँ सामग्री राख्न शुरु गरेको छ । सरकारले निषेधाज्ञा हटाएसँगै चार दिन अघिदेखि संग्रहालय खुला गरिएको हो ।

यसअघि यही साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र आएपछि राष्ट्रप्रमुखको हैसियतमा पहिलोपटक संग्रहालयको अवलोकन गर्नुभएको हो ।