एकै परिवारका ६ जनाको बीभत्स हत्या


इन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको अज्ञात समूहले बीभत्स हत्या गरेको छ ।

आइतबार राति उनीहरुलाई अज्ञात समूहले धारिलो हतियारले काटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घरमा रहेका ७ मध्ये ६ जनाको विभिन्न स्थानमा शव फेला परेको छ । अज्ञात समूहले ५२ वर्षीय तेजकुमार कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीप कार्र्की र ७ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या गरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

उनीहरुलाई धारिलो हतियारले बीभत्स हत्या गरेका अवस्थामा सोमबार बिहान गाउँलेले घरदेखि खोल्सा र बारीमा शव फेला पारेका थिए । मृतक आमा पार्वतीको शव घरमा, तेजबहादुरको सडकको भित्तामा, श्रीमती कमला कार्की र बुहारी रञ्जनाको शव खोल्सामा तथा नातिनातिनीको घरदेखि केही पर खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेका थिए ।

घरमा रहेका मृतक तेजबहादुरका बुबा ८५ वर्षीय बौद्धमान भने घरमै जीवित हुनुहुन्छ । उहाँ न्यून दृष्टियुक्त रहेको बताइएको छ । तेजबहादुरका छोरा जेठो रमेश कार्की वैदेशिक रोजगारमा मलेसिया र कान्छो नरेश कार्की दुबहीमा वैदेशिक रोजगारमा गएका र नरेशकी श्रीमती तारा कार्की भने झापाको दमकमा बस्दै आएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा समूह नै आएर उनीहरुलाई घरबाट लखेटी–लखेटी शरीरको विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी मारिएको स्थानीयले आशंका गरेका छन् । मृतक ६ जनाको शरीरको विभिन्न भागमा काटी शरीर क्षत–विक्षत अवस्थामा घर, बारी र खोल्सामा भेटिएको र मृतकको घर एकान्तमा रहेका कारण आफूहरुले बिहानमात्र थाहा पाएको स्थानीयले बताएका छन् ।

एकै परिवारका बीभत्स हत्या गर्नुका कारण खुल्न नसकेको र घटनामा संलग्न दोषी नउम्किऊन् भनेर भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएकोे छ । चैनपुर इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक योगराज खतिवडाकोे टोली र जिल्लाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीको प्रहरी टोली घटनास्थलमा पुगी स्थलगत अनुसन्धान शुरु गरेका छन् ।

घटनास्थललाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको छ । हत्यामा संलग्नलाई पक्राउ गर्न संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुर थप अनुसन्धानका लागि ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

गाउँमा अज्ञात समूहले परिवारकै बीभत्स हत्या गरेपछि स्थानीयवासी त्रसित बनेका छन् । घटनास्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी करिब ६ घण्टा टाढा रहेको छ ।