काठमाडौं उपत्यका डुबानमा, हजारौं प्रभावित


नेपाल समाचारपत्र, काठमाडौं ।

सोमबार बिहान परेको अविरल वर्षासँगै काठमाडौं उपत्यकाका नदीमा आएको बाढीका कारण तटीय क्षेत्रका ४ सय ५० भन्दा बढी घर डुबानमा परेका छन् भने हजारौं प्रभावित भएका छन् ।

उपत्यकाको वागमती, विष्णुमती तथा यसको सहायक नदी जलाधारहरूमा ६ घण्टासम्म परेको भारी वर्षाका कारण नदीको बहाव निकै बढेपछि तटीय क्षेत्रका घरहरू डुबानमा परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले ती घरबाट ५ सयभन्दा बढीको उद्धार गरिएको बताउनुभयो । उहाँले बस्तीमा पसेको बाढीले सुन्दरीघाटका ९ वटा घरमा पनि क्षति पुर्‍याएको तर मानवीय क्षति भने नभएको बताउनुभयो ।

बाढीले काठमाडौं महानगरपालिका–२० स्थित विष्णुमती नदीको किनारमा रहेका १ सय बस्ती पनि डुबानमा परी १ हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् । नदी छेउछाउका बस्ती डुबानमा पर्ने क्रममा कालिमाटीस्थित तरकारी बजार र विष्णुमती नदी किनाराका बस्ती डुबानमा परेको हो । वडाध्यक्ष राजेन्द्र मानन्धरका अनुसार बस्ती जलमग्न भई करिब १ सय घर र १ हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् । परोपकारबाट डल्लु शोभा भगवती जाने करिडोर छेउमा रहेका जम्मै घरको भुइँ तला पानीले भरिएको थियो । वडाध्यक्ष मानन्धरका अनुसार बस्ती डुबानमा परेपछि सोमबार बिहान ३ बजदेखि मानिसहरू उद्धारमा खटिएका थिए ।

बाढीमा परी प्रभावित हुने करिब ३ सय जनालाई सोही वडामा अवस्थित भीमसेन मन्दिर नजिक रहेको देय्भ्वय््छेँमा निःशुल्क बस्ने र खाना खुवाउने व्यवस्था मिलाइएको वडाले जनाएको छ । प्रभावित मानिसहरू त्यहाँ आएर खाना खान आउने क्रम बढिरहेको छ । वडाध्यक्ष मानन्धरले त्यहाँ आउने सबैलाई वडाको विपद् व्यवस्थापन समितिको आकस्मिक कोषबाट स्वास्थ्य सुरक्षा मापदण्डका सामग्री मास्क तथा सेनिटाइजर खरिद गरी वितरण गरिएको बताउनुभयो । परोपकारबाट डल्लु जाने नयाँ पुलमा जम्मा गरी राखेको सामग्रीले नदीको पानी छेकिएपछि बस्तीमा पानी पसेकोे स्थानीयको भनाइ रहेको छ ।

त्यस्तै, बाढीले बल्खु तरकारी बजार पनि डुबानमा परेको थियो । बाढीबाट करिब १ करोडको क्षति भएको अनुमान गरिएको छ । तरकारी बजार ध्वस्त भएको र तत्काल खुल्ने अवस्था नरहेको तरकारी बजारका सञ्चालक मोहन बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बजार डुबानमा परी प्रारम्भिकरूपमा १ करोड रुपियाँ क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त भएको छ । तत्काल सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’

विष्णुमती नदीसँगै वागमती, रुद्रमती, धोबीखोला, काँडाघारी, विजयश्वरी, शोभा भगवती, डल्लु, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको शंखमूल, सानेपा, गुँसिगाल, कालोपुललगायतको क्षेत्र डुबानमा परेको थियो । ललितपुरबाट सशस्त्र प्रहरी दक्षिणकाली गणमा खटिएका प्रहरीले १५ मजदुरको उद्धार गरिएको प्रहरी उपरीक्षक किरण ढुंगानाले जानकारी दिनुभयो । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ इन्जिनियरिङ कलेज नजिक मनहरा खोलाको पानी सुकुम्बासी बस्तीमा पसेर डुबानमा परेका करिब ७० घर–परिवारकोे सशस्त्र प्रहरी बल नेपाल २२ नम्बर गणले सकशुल उद्धार गरेको थियो ।

पानीसँगै आएको बाढीले विभिन्न क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ–ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । शंखमूल, यूएन पार्क हुँदै कालोपुल आउने, डल्लु जाने बाटो जलमग्न भएको थियो । यसले गर्दा सोमबार दिनभर आवागन अवरुद्ध हुन पुगेको थियो ।

बिहान ८ बजेपछि भने सडकमा पानीको सतह घटेर सवारीसाधन सञ्चालनमा आए पनि बाटोभरि हिलो जमेका कारण आवागमनमा निकै कठिनाइ भएको थियो । वागमती र धोबीखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेसनबाट लाइन काटिदिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।