कलाका कला


गायिका कला लम्साल मौलिक नेपाली गीत–संगीतलाई जोगाइराख्ने अभियानमा छिन्।

यही अभियानबमोजिम कला सबैजसो कार्यक्रममा सधैँजसो नेपाली पोसाकमै मञ्चमा चढ्ने गर्दछिन्। ‘मौलिकता र नेपाली पहिचानको कुरा छोडेर भाइरल हुनकै लागि प्रयोग गरेको भए १४ वर्षको गीत–संगीतको यात्रामा थुप्रै अवसर छोड्ने थिइनँ। त्यसो गर्न मलाई सधैं एउटै कुराले छेक्थ्यो, मौलिक गीत–संगीतले।’ कला भन्छिन् ‘छोरी मान्छेले गीत गायो कि बिग्रिन्छे भन्ने हाम्रो समाज त्यहीमाथि म ब्राह्मणकी छोरी धेरै कुराले छेक्दाछेक्दै पनि आफ्नो प्रतिभालाई सबैमाझ पुर्‍याउन निरन्तर यो क्षेत्रमा लागिरहेकी छु।’

कलाले स्कुल पढ्दा नै गीत गाउन थालिन्। अलि ठूली भएपछि गीत गाए छोरी बिग्रन्छे भनेर घर परिवारको दबाबमा केही समय गीत–संगीत क्षेत्रबाट बिदा लिएर बस्नुपरेको थियो।‘घर परिवारको दबाबमा केही समय गीत–संगीतबाट टाढा बसे पनि पछि पुनः गाउन थालें’ उनी सुनाउँछिन्। कक्षा कोठामा गीत गुनगुनाउने गरेको थाहा पाएपछि स्कुलका शिक्षक शिक्षिकाहरूले कार्यक्रम राखेर आफ्नो प्रतिभालाई अगाडि बढाएको स्मरण गर्दै उनले भनिन् ‘मैले पढेको श्री मीन माध्यमिक विद्यालय थर्पु तनहुँका शिक्षकहरूले मलाई हौसला नदिएको भए सायद मेरो प्रतिभा यसै खेर जान्थ्यो।’ स्कुलमा कार्यक्रम हुँदा औंठी हीराको पाइँदैन औषधि पिरको गाएकी कलाले २०६२/०६३ देखि गायक यात्रा शुरू गरी तीन दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छिन्। पहिलोपटक मर्न पाए खुसी हुन्थ्यो म बोलको गीत रेकर्डिङ गराएपछि उनले मेरी मायालाई, भन्देउ न बाई, नाकै हेर्दा थाहा हुने, छड्के तिलहरी पहिलो दोस्रो र तेस्रो, पातली पहिलो दोश्रो र तेस्रो, रानीबन, बनैमा फुलेको चमेली, धान चामल, लाहुरे, राष्ट्रिय गीत तराईको आँगनलगायतका गीत सार्वजनिक गरेकी छन्। उनले गीत गाउने क्रममा साधना म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्ड, छायादेवी तीज अवार्ड, राष्ट्रिय लोक दोहोरीलगायतका अवार्ड आफ्नो बनाएकी छिन्।