काभ्रेमा पार्टी बदल्ने जनप्रतिनिधिहरुको नाम गोप्य, निर्वाचन आयोग भन्छ-‘संख्या दिनु नाम नदिनु भन्ने आदेश छ’

9.1k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमाले विभाजन भई अलग भएको नेकपा एस पार्टीमा समावेश हुन चाहने जनप्रतिनिधिहरुले भदौ २२ गते भित्र जिल्ला स्थित निर्वाचन आयोगको कार्यालयमा गई सनाखत गरिसक्नु पर्ने आयोगको निर्णय अनुसार हरेक दिन जिल्लामा कति जना जनप्रतिनिधिले सनाखत गर्छन ? त्यसको नामावली सार्वजनिक नगर्नु भन्ने आदेश गरेको खुलासा भएको छ ।

‘काभ्रेपलाञ्चोक जिल्लामा नेकपा एमाले परित्याग गरी नेकपा एस रोज्ने जनप्रतिनिधिको संख्या आईतबार साँझ ५ बजेसम्म ९ जना पुग्यो’–जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘नाम र पदका बारेमा आयोगले नभन्नु भन्ने निर्णय भएको निर्देशन भएकाले जानकारी दिन सकिएन ।’

राईले २२ गते साँझ केन्द्रिय आयोगमा पठाए पछि काभ्रेपलाञ्चोक जिल्लाबाट कुन कुन पदका कसकसले पार्टी परित्याग गरेको जानकारी लिन अनुरोध गर्नु भयो । सूचनाको हक अनुसार पनि नागरिकहरुले हरेक दिन भएको प्रगतिका बारेमा जानकारी राख्ने अधिकार भए पनि निर्वाचन आयोगले नागरिकहरुको हक अधिकार कुण्ठीत हुने गरी पार्टी परिवर्तन गर्नेहरुको नामावली गोप्य राख्ने निर्णय गरेको हो । ९ जनामा दुई वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र जिल्ला समन्वय समिति सदस्य एक जना रहेका छन् ।

सूचनाको हक अन्र्तगत पनि भएको सूचना लुकाउन मिल्छ र ? भन्ने जिज्ञासामा निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले आफुलाई नभई आयुक्तहरुलाई सोध्न अनुरोध गर्नु भयो । ‘नामावली र पद गोप्य राख्नु भन्ने निर्देशन आएको छ, थप कुरा आयुक्तहरुलाई सोध्नुस’–सूचना अधिकारी सुर्यप्रसाद अर्यालले भन्नुभयो ।

नेकपा एमाले पार्टी परित्याग गरी नयाँ पार्टीमा जानेहरुमा प्रदेश सभाका सदस्यद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले प्रदेशको निर्वाचन कार्यालय पुगी पार्टी परित्याग गरिसकेका छन् भने मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा नयाँ पार्टीको अध्यक्ष नै छन् ।

उनि बाहेक नगर प्रमुख, उपप्रमुख र उपाध्यक्षहरु नयाँ पार्टीका लागि खुलेका छैनन । केहि वडा अध्यक्षहरु र केहि सदस्यहरु नयाँ पार्टीमा जाने तरखरमा छन् । एमाले काभ्रेले जिल्लामा रहेको १३ वटा स्थानीय तह मध्ये ७ वटामा प्रमुख, उपप्रमुख सहित ५८ वटा वडामा वडा अध्यक्ष जितेको थियो ।

अहिले नयाँ पार्टीमा जाने जनप्रतिनिधिको संख्या न्युन छ । नयाँ पार्टीको जिल्ला भेला गरे लगत्तै नेकपा एमाले काभ्रेले बृहत्त जिल्ला आयोजना गरेको थियो । ६३ जना जिल्ला कमिटी रहेको नेकपा एमाले काभ्रेमा ३ जना बाहेक सबै नेकपा एमालेमा बसेका छन् । नयाँ पार्टी रोज्नेमा ३ जना मात्रै छन् ।