बिरामी परेर पनि दौडेका अजित


फिरोज राजोपाध्याय, काठमाडौं ।

अजितकुमार यादव नेपाली खेलकुदका चम्किला तारा हुन् । आत्मविश्वासी, लगनशील, मिहिनेती र खेलमा समर्पण खेलाडीसमेत हुन् अजित । १९ वर्षमा टेकेका यी युवा धावकका लागि खेल नै सबैथोक रहेको छ । लामो दौडका धावक अजितले हालै बिरामी परेर पनि केन्यामा भएको प्रतियोगितामा भाग लिए र पूरै दौड दौडिन सफल भए । यसले नै सावित गर्छ कि उनको खेलमा कति समर्पण छ भनेर । उनलाई स्वास्थ्य समस्याले पनि रोक्न सकेन ।

अफ्रिकी राष्ट्र केन्याको शहर नैरोबीमा भएको यू–२० वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा अजितले ३ हजार मिटर विधामा दौडेका हुन् । यही वर्षको अगस्ट १८ मा भएको उक्त दौडमा उनी दौडिन सक्षम थिएनन् । उनी भर्खरै भाइरल ज्वरो निको पारेर नेपालबाट केन्या गएका थिए । उनको सो दौडमा सकेमा मात्रै दौडिने नत्र बीचैमा छाड्ने भन्ने लक्ष्यका साथ भाग लिए । तर, उनले ३ हजार मिटरको दूरी पार गरेर प्रतियोगितामा सफल सहभागिता जनाए ।

अजितले नसके पनि दौड पूरा गरेपछि उनका गुरु धनीराम चौधरीले उनको निकै प्रशंसा गर्नुभयो । चौधरीले बताउनुभयो– ‘अजित निकै क्षमतावान धावक हुन् । उनमा केही गर्छु भन्ने जोश छ । उनले दौडनअघि कामेको र दौडन नसक्ने भनेर मलाई बताइरहेका थिए । उनले नसकेमा बीचैमा दौड परित्याग गर्ने भने पनि मलाई । मैले हुन्छ भनेँ । तर, उनले दौड पूरा गरेर हाम्रो शिर उचो बनाइदिएका छन् ।’

तर, दौड पूरा त गरे अजितले, त्यसपछि भने उनलाई लगातार भोमिट (वान्ता) भएको थियो । पहिलोपटक वल्र्ड च्याम्पियनसिपमा भाग लिएका अजितले सो ३ हजार दूरीमा ९ मिनेट १५.२७ सेकेन्डको समय लगाएका थिए । उनको ३ हजार मिटरको दूरीमा राम्रो समय भनेको ८ मिनेट ३०.३२ सेकेन्डको रहेको छ । जुन उनले सन् २०१९ मा हङकङमा भएको जुनियर एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा निर्धारण गरेका थिए । उनी केन्यामा १४ औं स्थानमा रहेका थिए ।

केन्या जानुअघि अजितलाई भाइरल ज्वरो आएको थियो । उनले यसअघि भारतको पन्जाब राज्यमा भएको १५ सय मिटर दौडमा भाग लिन गएका थिए । तर, त्यहाँ पनि उनी बिरामी भएका थिए । अजितले बताए–‘पन्जाबमा १५ सय मिटरमा प्रतिस्पर्धा गर्नु पर्ने थियो, तर त्यहाँको गर्मीले मलाई अवस्था मिलेन । वार्म अप गरें तर, बिरामीले गर्दा भाग लिन पाएन ।’

पन्जाबमा फर्केपछि अजित लगातार ५ दिन भाइरल ज्वरोले थला परे । उनलाई केन्यामा भाग लिनु थियो, तर ज्वरोले गर्दा नेपालमा पनि अभ्यास गर्न पाएनन् उनले । केन्या उड्न १० दिन मात्रै समय थियो, तर ५ दिन ज्वरोले गर्दा त्यतिकै समय खेर गयो । यसपछि ठिक भएपछि केही अभ्यासमा लागे उनी । केन्या पुग्दा पनि उनको स्वास्थ्य ठिक भएन ।

केन्यामा हाइ अल्टिच्युटले गर्दा अजितको स्वास्थ्यमा असर परेको उनका गुरु धनीराम चौधरीले बताउनुभयो । उहाँले बताउनुभयो–‘केन्यामा चिसो पनि थियो, त्यसमाथि हाइ अल्टिच्युट भएपछि अजितलाई सन्चो भएन । त्यहाँ उनलाई काम्ने, कमजोर महसुस, कुरा गर्न पनि गाह्रो भएको थियो । १८ अगस्टमै दौडिनुपर्दा पनि हामीलाई समय भएन । २१ तारिकमा भएको भए अजितले राम्रो समय निकाल्थे । तर, पनि उनले विश्व च्याम्पियनसिपको डेब्युमै पूरै दौडे यो नै खुशीको कुरा हो । पूरा नगरेको भए शायद आयोजकले कस्तो खेलाडी ल्याएको होला भन्नेथिए, अजितले यस्तो भन्ने ठाउँ नै दिएनन्, यो नै उनको खेलमा लगाव भएको पुष्टि हुन्छ ।
लक्ष्य राम्रो गर्दै जाने

भविष्यमा कस्तो लक्ष्य लिएको छभन्दा अजितले खेल्दै जाने, राम्रो गर्दै जाने बताए । पिनाकल एकेडेमीमा बीबीएस दोस्रो वर्षमा पढिरहेका अजितले बताए–‘मैले भविष्यमा यही गर्छु भनेर केही लक्ष्य पनि लिएको छैन । मैले दौडिने, भाग लिने, अभ्यास गर्ने, प्रदर्शन राम्रो गर्दै जाने हो । यसरी जाँदा नै मलाई दौडिन दबाब हुँदैन ।’
रंगशाला उपलब्ध भएन

अजितले वल्र्ड च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगितामा भाग लिन जानको लागि अभ्यास गर्न दशरथ रंगशाला नै पाएनन् । उनले बाटोमा अभ्यास गर्नु परेको थियो । उनी एसियनस्तरमा जुनियरतर्फ स्वर्णपदक विजेता खेलाडी हुन् । यसैले पनि उनले नैरोबीमा वल्र्ड च्याम्पियनसिपमा भाग लिन पाए । तर, नेपालमा उनीजस्ता विश्वस्तरीय खेलाडीको लागि रंगशाला उपलब्ध गराइदिंदैन । यदि उनले रंगशालामा अभ्यास गर्न पाएको भए शायद उनको नैरोबीमा राम्रो समय निर्धारित हुन सक्थ्यो । तर, सम्बन्धित निकायले यसमा कुनै सुनुवाई नै गरिदिएन ।

यसबारे अजितका गुरु धनीराम चौधरी बताउनुहुन्छ– ‘मैले रंगशाला उपलब्ध गराउन संघमा भने, परिषद्मा भने तर कतैबाट पनि सकारात्मक उत्तर आएन । सरकारको मापदण्डअनुसार नै प्रशिक्षण गराउँछुभन्दा पनि कसैले सुनेनन् । मैले धेरै पनि भनेको थिएन, २२ जनाको लागि रंगशाला उपलब्ध गराउन माग गरेको हुँ । यदि भीड हुन्छ भने सिफ्टमा अभ्यास गराउँछु भन्दा त्यसमा पनि स्वीकृत भएन । अब खेलाडीको लागि रंगशाला उपलब्ध हुँदैन भने उनीहरूले कसरी अभ्यास गर्छन् त ? बाटोमा अभ्यास गर्नु पनि जोखिम छ, अहिले त भीड पनि छ, कोभिडको कारणले बाटोमा अभ्यास गराएर जोखिम मोल पनि लिन सकिँदैन ।