नेपालको तीन क्षेत्रमा श्रीलंकाले लगानी गर्ने


काठमाडौं, (नेस) ।

श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत् र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवम् निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताउनुभयो ।

दुई देशबीच सिधा हवाई सेवा शुरु भएको उल्लेख गर्दै उहाँले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गर्नुभयो । छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्नुहुँदै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । ‘नेपाल सिमेन्ट, जुत्ताचप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो सम्भावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।’