अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन व्यवसायीको दबाब


बुटवल, (नेस)  ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन बुटवल उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ । संघले पत्रकार सम्मेलन गरी कोरोनाले थला परेको निजी क्षेत्रको लगानीको सुरक्षाका लागि विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएको हो ।

विमानस्थलको ९८ प्रतिशत निर्माण कार्य पूरा भइसकेको भन्दै बाँकी २ प्रतिशत क्यालिब्रेसन फ्लाइट सम्बन्धी काम पूरा गरेर छिटो सञ्चालनमा ल्याउन संघका अध्यक्ष उज्ज्वल कसजूले माग गर्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थल उद्योगी व्यवसायीका लागि पर्यटन,उद्योग र व्यापारको लागि भाग्यरेखा भएको र यसले कृषि उत्पादनलाई विदेश निर्यात गर्न सकिने भए पनि विमानस्थल सञ्चालन नहुँंदा उद्योगी व्यवसायी निराश बनेको अध्यक्ष कसजूले बताउनुभयो ।

संघका उद्योग उपाध्यक्ष टंक गैरेले विमानस्थल अझै एक वर्ष सञ्चालनमा आउन नसक्ने देखिएकाले सरकारलाई दबाब दिनुपरेको बताउनुभयो । सन् २०१५ मा शिलान्यास भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । निर्धारित समयभन्दा पाँच वर्ष ढिलाइ भएपछि उद्योगी व्यवसायीहरुले छिटो सञ्चालनमा ल्याउन सरकारलाई दबाब दिन थालेका हुन् । उद्योगीको माग अनुसार सरकारी निकाय यथाशीघ्र विमानस्थललाई सञ्चालनमा ल्याउन गम्भीर बन्न जरुरी छ ।