६८ मेगावाट विद्युत् प्रणाली बाहिर


नेपाल समाचारपत्र, काठमाडौं ।

अबिरल वर्षका कारण विद्युत् प्रसारण लाइनको टावर ढल्दा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत गृहहरुको ६८ दशमलव २ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको मोदी खोला विद्युत् गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले ढलाएको छ ।

मोदी–१ जलविद्युत आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टाबरलाई पहिरोले ढालेको छ । यसबाट निजी क्षेत्रको स्वामित्वमा टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११ दशमलव २ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । प्राधिकरणले टावर मर्मतको काम तत्काल शुरू गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न बितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।

आतपत्कालीन रुपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युतहरु सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुचारु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’, घिसिङले भन्नुभयो । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ ।

चार जिल्लामा विद्युत् अवरुद्ध

विद्युत् प्रसारण लाइनको टावर ढलेका कारण पर्वतसहित चार जिल्लाको विद्युत सेवा अबरुद्ध भएको छ । टावर ढलेका कारण पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङमा विद्युत् सेवा अबरुद्ध भएको हो ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुश्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ ।