निशाको निधन


भारतमा भएको सवारी दुर्घटनापछि तीन वर्षदेखि मृत्यु शय्यामा छट्पटाइरहेकी मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ।

मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो। घिमिरेको साँझ ६ः५१ बजे निधन भएको हो।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउसमेत लामो समयसम्म पुरिन सकेका थिएनन्। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।

नर्भिक अस्पतालले जिउँदो लासजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। सो क्रममा उनलाई सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो। लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् –‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदनासमेत व्यक्त गर्दछौं।’

निशा भारतमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएर उपचारको अभावमा घरमा जिउँदो लास बनेर बस्नु परेको खबर थाहा पाएपछि नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले उनको उद्धार गरी निःशुल्करूपमा उपचार गराउँदै आएकी थिइन्। यसअघि नर्भिकले हालै मात्र पत्रकार सम्मेलन गरी निशाको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी गराएको थियो।