लक्ष्यभन्दा सवा ३ अर्ब बढी राजस्व संकलन


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्न सफल भएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी अर्थात् १४ अर्ब, ८४ करोड ५८ लाख २८ हजार राजस्व संलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई साउन महिनाका लागि ११ अर्ब ८२ करोड ७५ लाख ५ हजार राजस्व संकलनका लागि लक्ष्य दिएकोमा उसले चालू आर्थिक वर्षको पहिलो महिनामा भने लक्ष्यभन्दा ३ अर्ब १८ करोड ३२ लाख ३ हजार बढी राजस्व असुली गरेको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भए पनि चालू आर्थिक वर्षमा इन्धनलगायतका सवारी साधनको पनि आयात बढेकाले राजस्व असुली कार्य सन्तोषजनक भएको भन्सार अधिकारीले बताएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कोरोना संक्रमण र निषेधाज्ञा कारण वीरगन्ज भन्सारलाई लक्ष्य भेट्टाउन मुस्किल परेको थियो । हाल वीरगन्जमा कोरोनाको त्रास पनि कम भएको र निषेधाज्ञा पनि नभएका कारण भन्सार नाका सहज रहेको छ । गत आर्थिक बर्षको साउनमा नै भने यो भन्सार कार्यालयले लक्ष्यको राजस्व असुलीमा असफल भएको थियो । गत आर्थिक वर्षमा भने भन्सार विभागले ८ अर्ब राजस्व संकलनको लक्ष्य दिएकोमा ७ अर्बमात्रै असुली गर्न सफल भएको थियो ।