मिडियामा कोभिड



कोभिड महामारीका कारण विश्व नै प्रभावित भएका बेला नेपालको मिडिया जगत् मात्र प्रभावित नहुने कुरा रहेन । कोभिडले मानिसको आवागमनमा अवरोध पुर्‍याउने भएका कारण घटना स्थलमा पुगेर समाचार संकलन गर्नुपर्ने पेसा पत्रकारितालाई असर पर्ने नै भयो । आम उद्योगभन्दा भिन्न प्रकृतिको मिडिया वा सञ्चार क्षेत्रमा सामाजिक जिम्मेवारी अधिक हुने, पत्रकारिताका माध्यमबाट सार्वजनिक भएका विषय प्रकाशक वा प्रसारकको मात्र सम्पत्ति नभई आम नागरिकको सम्पत्ति हुनेभएका कारण यसको प्रभाव गम्भीर हुन्छ नै । कोभिडका कारण मुलुकको वैचारिक भकारीमा घुन र चिलेसा पर्ने काम भएको विश्लेषण विज्ञहरूले गरेका छन् । मिडिया सञ्चालक र पत्रकारहरू नै संकटपूर्ण अवस्थामा रहेका कारण उनीहरूले जसरी काम गर्नुपथ्र्यो, गर्न नपाएका कारण यस क्षेत्रमा कमजोरीहरू देखिनु स्वाभाविक भएको छ । तर, यस्ता कमजोरीले निरन्तरता पाउने हुन् कि, ‘बाख्रो त मर्‍याे–मर्‍याे बाघ पो पल्किने हो कि’ भन्ने त्रास बढेर गएको छ ।

कोरोनाले महामारीको रूप लिएर नेपाल प्रवेश गरेयता विगत डेढ वर्षमा २३ पत्रकारको ज्यान गएको, एक हजारभन्दा बढी संक्रमित भएको र अन्य थुप्रै सञ्चारकर्मीहरू व्यावसायिक रूपमै प्रभावित हुनुपरेको गम्भीर अवस्था देखिएको छ । नेपाल पत्रकार महासंघले मंगलबार नेपाल प्रेस इन्स्टिच्युटद्वारा आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा दिएको जानकारीअनुसार कोभिडका कारण कति उद्योग तथा व्यवसाय बन्द भए तापनि मिडिया क्षेत्र जसरी होस् चलिरहेकै छ, दुःख सहेर यस क्षेत्रलाई जीवित नराखेको भए महामारीले कति भयावह स्वरूप देखाउँथ्यो, सबैले पत्रकार तथा सञ्चार क्षेत्रको गुन मान्नु आवश्यक छ । वास्तवमा मिडिया बन्द भएको भए आम नागरिकले हात धुने सीपसम्म सिक्दैनथे, सामाजिक दूरीको व्यवस्थापन जे–जति भयो, जति नागरिक सुरक्षित हुनसके त्यो यस परिमाणमा सफल हुनेथिएन । १३ हजारभन्दा बढी पत्रकारहरूको छाता संगठन महासंघले मुलुकका लागि महत्वपूर्ण भूमिका खेल्ने मिडिया क्षेत्रप्रति राज्य संकीर्ण र अनुदार हुनु दुर्भाग्यपूर्ण हो भनेको छ । यद्यपि, राज्यले मिडियाप्रति अनुदार नभएको दाबी गरेको छ । प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको, त्यसरी भएको सहयोग पनि राज्यले नै गरेको र संघीय सरकारबाट सहयोग प्राप्त भएन भनेर गुनासो गर्नु जायज नभएको सरकारी पक्षको धारणा छ । अन्तक्र्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यले मिडियालाई सहयोग नगरेको भन्न मिल्दैन भन्नुभएको छ ।

सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षहरूले तयार पारेको अनुसन्धानमूलक कार्यपत्रले पनि नेपाली मिडिया उद्योगलाई कोभिडले थिलथिलो बनाएको, व्यावसायिकतामा गिरावट आएको र पत्रकार तथा सञ्चारकर्मीहरूलाई पेसागत जीवन धान्न नै मुस्किल परेको जनाएका छन् । हुनत, सचिव अर्यालले सञ्चारकर्मीको क्षमता विस्तार, भावी कार्यदिशा निर्माण, नीति निर्माण तथा कार्यान्वयन लगायतका विषयमा सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको जनाउनुभएको छ तर मिडिया क्षेत्रमा ठूलै भ्वाङ परेका कारण सानोतिनो भरथेग हात्तीको मुखमा जिरा हुने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्