दुर्गन्धित राजधानी



आज बुधबारदेखि राजधानीको फोहोर उठाइने बताइएको छ । काठमाडौं उपत्यका विगत केही सातादेखि फोहोरका कारण दुर्गन्धित मात्र होइन अस्तव्यस्तसमेत बन्दै गएको छ । लगातारको झरीले उपत्यकामा हिड्नसमेत मुस्किल परेको छ ।

सिंगापुरको सपना देखाउने नेपाली नेताहरू फोहोर व्यवस्थापनमा भने चुकेका मात्र होइन असफल नै भएका छन् । मुलुकलाई समृद्धिको बाटोमा लैजाने भनेर ठूला–ठूला योजना बनाउने योजनाकारहरूले राजधानीको फोहोर व्यवस्थापनमा भने आँखा चिम्लिएर बसेका छन् । मुलुकमा गल्लीपिच्छे नेताहरू भेटिन्छन् तर अहिलेसम्म भिजन भएका एउटा पनि नेता मुलुकले पाउन नसक्नु नै आम नेपालीको दुर्भाग्य भएको छ । खासगरी यस उपत्यकाका २२ वटा स्थानीय निकायबाट निस्कने फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल अहिले फोहोरले भरिएको छ । त्यसको विकल्पको रूपमा रहेको बन्चरेडाँडालाई सञ्चालनमा ल्याउने भनेको पनि वर्षौं भइसक्यो तर नयाँ डम्पिङ साइट पनि सञ्चालनमा आउन सकेको छैन । नेपालको कर्मचारी तन्त्रमा देखिएको ढिलासुस्ती र कमिसनबिना काम नगर्ने प्रवृत्तिले पनि कुनै पनि योजना समयमा सम्पन्न नभएको हो भन्न असजिलो मान्नुपर्दैन । राजनीतिक दलको फेर समातेर हिड्ने कर्मचारीलाई दलका नेताहरूबाटै काखी च्याप्ने प्रवृत्तिले पनि काम गरेको देखिन्छ । केही वर्षका लागि भनेर शुरू गरिएको सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर फ्याँक्न थालेको पनि दशकौं बित्दासमेत समयमा त्यसको विकल्प दिन नसक्ने कर्मचारी र नेताले देश बनाउँछन् भनेर आश गर्ने ठाउँ छैन । जनताको अभिभावक भनेको राज्य हो अहिले राज्यसत्ता चलाउनेहरूको ताल हेर्ने हो भने उनीहरू कसले राम्रो मन्त्रालय पाउने र आफ्ना आसेपासेलाई कसरी राम्रो ठाउँमा व्यवस्थापन गर्ने भन्नेमा लिप्त रहनुले पनि नेताको चरित्र कस्तो छ भन्ने प्रष्ट हुन्छ । संसारका गरिवभन्दा गरिब देशले पनि फोहोरलाई सहज ढंगले व्यवस्थापन गरेको देखिन्छ । शासकीय नेतृत्वमा पुग्नेहरूको अक्षमताले आम नेपालीले दुख पाइरहेका छन् । शासक जनताको सेवक हुनुपर्ने हो तर हामीकहाँ राज्यबाट प्रदान गरिने सुविधा लिन पनि घूस खुवाउनुपर्ने बाध्यताले राज्यको अवस्थाबारेमा चित्रण गरेको देखिन्छ ।

राज्यले प्रदान गर्ने हरेक सुविधामा विभेद हुने गरेको छ । नागरिक भएर पाउनुपर्ने नैसर्गिक अधिकारमा पनि शासकहरूले यो मेरो पार्टीको मान्छे हो कि होइन भनेर चित्रण गर्ने गरेकाले नागरिकहरू मुलुकबाट पलायन हुने क्रम पनि तीव्र रूपमा देखिएको छ । मुलुकमा अस्थिरता बढेसँगै युवाहरू देश छाड्न आतुर देखिनुले पनि राज्यको अवस्था कस्तो छ भन्ने छर्लंग नै भइसकेको छ । तर, पनि देश बनाउनुपर्दछ भन्ने चेत राज्यका विभिन्न अंगमा बसेका नेता वा कर्मचारीमा नआउनुलाई बिडम्बना नै मान्नुपर्दछ । सुन्दर देशमा कुरुप व्यक्तिहरूको हालिमुहालीले संसारमा नै नेपालको बद्नाम हुँदै गएको छ । अब जनताले पनि यो मेरो नेता वा कर्मचारी हो भनेर चुप लागेर बस्ने बेला होइन,नराम्रो गर्नेलाई दण्ड दिने अभियानको सुरुआत गर्नसके मात्रै मुलुकले कोल्टो फेर्नेछ । गरिबी बढिरहने, भ्रष्टाचार मौलाइरहने, नेपाली पलायन भइरहने र नेतृत्व सत्तामै रमाउने प्रवृत्तिविरुद्ध आम नागरिक एकजुट हुनुको विकल्प देखिन्न ।

प्रतिक्रिया दिनुहोस्